death

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं, १० भदौ । विभिन्न स्थानमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या १६७ पुगेको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भयो ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यसैबीच बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै गए राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दि ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

त्यस्तै, विराटनगर महानगरपालिकामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको हो ।

कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती पुरुषको मृत्यु भएको हो ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *