काठमाडौं, १० भदाै। काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म थप निषेधाज्ञा हुने भएको छ। आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो ।
अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन्। जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।
निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रातोपाटीलाई जानकारी दिएकी हुन्। कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए।
भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता निषेधाज्ञाको निर्णय गरेको थियो। आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ। थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।