काठमाडौं, १२ भदौ । कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यक बाहेक अन्य सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ । खाद्यान्न तथा तयारी खाद्यान्न घर–घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यक बाहेकका सेवा सञ्चालन गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेश अनुसार खाद्य सामग्री घर–घरमा ढुवानी गर्ने अत्यावश्यक सेवामा नपरेको भन्दै प्रहरीले त्यसमा रोक लगाएको हो ।
जिल्ला प्रशासनले पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइने जनाएको छ । तर अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ ।
यस बाहेकका होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
बाहिरको खाजा खानाले संक्रमणको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले घरकै खाना खान पनि आग्रह गरेको छ । यसैबीच निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ ।
उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको हो । नियन्त्रणमा लिइएकाहरु मध्ये कति सञ्चालक थिए र कति डेलिभरीकर्ता थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
