काठमाडौं, १३ भदौ । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।
बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ ।
उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो ।
उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’ ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ । रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् ।
देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ । स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् ।
गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
यो पनि पढ्नुहोस् :-
काठमाडौं, १३ भदौ । कोरोना संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ जैसिदेवलकी ५० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुई साताअघि अस्पताल भर्ना भएकी उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
त्यसैगरी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो उनी अस्पताल भर्ना भएकी थिइन् ।
न्यून रक्तचापको समस्याबाट पीडित ती महिलाको साँझ ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।
यस्तै पाल्पाकी एक ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजस्थित पाल्पामा उपचार गराइरहेकी संक्रमित महिलाको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार जिल्लाको तानसेन नगरपालिका–८ मदनपोखरा घर भएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला मुटु रोगीसमेत रहेको अस्पतालको भनाइ छ ।
मृतक ती महिला गत भदौ ५ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि त्यस अस्पतालमा पुगेकी थिइन् भने स्वाब परीक्षण गर्दा यही भदौ ७ गते कोरोना फेला परेको थियो ।
यता कास्कीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १६ का ५२ वर्षीय पुरुष हुन् । उनको गएराति मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । योसँगै पोखरा प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट गएराती एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाको भदैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । मिर्गौलाका रोगी उनमा गत ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।