पोखरा, १३ भदाै। कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी निषेधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो।
ढकालका अनुसार शनिबारदेखि जोर गते जोर नम्बर भएका सवारीसाधन र बिजोर बार बिजोर नम्बर भएका सवारीसाधन बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म सडकमा गुड्न पाउने छन्। विद्यालयलगायतका शैक्षिक संस्था, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्विमीङ पुल, ब्यूटी पार्लर, शैलुनलगायतका सेवा तथा स्थलहरु भने सञ्चालन अनुमति दिइएको छैन ।
समुदायस्तरमा सङक्रमित भेटिन थालेपछि र चाडपर्वमा भीडभाड हुने भन्दै प्रशासनले कास्कीमा यही भदौ ३ गतेदेखि सात गतेसम्म र पुनः दोस्रोपल्ट आजसम्म निषेधाज्ञा जारी गरेको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म दुई हजार ३६ जनामा संङ्क्रमण देखिएको छ । आज मात्र ३१ जना सङक्रमित देखिएका छन् । आज थप एक जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या १० पुगेको छ । हालसम्म एक हजार छ सय ७२ जना निको भएका छन् ।