काठमाडौँ, १४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपालको भू–भाग कब्जामा लिएको जमिन आफ्नै कार्यकालमा फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका छन्।
प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको रहेको ऐतिहासिक तथ्य र प्रमाणहरु रहेको बताएका हुन् । उनले उक्त जमिन नेपालले १४६ वर्ष देखी भुमि भोगचलन गरेको उल्लेख गर्दै काली नदी पूर्वको जमिन नेपालको हो भनि सुगौली सन्धीमा उल्लेख गरेको बताएका छन्।
नेपालले कुनै आवेगमा नक्सा बनाएको होइन र भारतसँग कुनै निउ खोज्नको लागि नेपालले नक्सा जारी गरेको होइन। नेपालको नक्सा यथार्थ, सत्य तथा तथ्यमा आधारित रहेको उनले प्रष्ट पारे। भारतले वार्तामा आउनुको साटो उल्टै नेपाली भूमिमा बोटो बनाउने काम गरेको छ । त्यो हाम्रो लागि कदापी स्वीकार्य छैन ।’ उनले भने।
भारतले ८औं संस्करणमा नेपालको जमिन समेटेर निकालेको नक्सा प्रति आपत्ती जनाउँदै उनले भारतले नयाँ नक्सा जारी गरेपछि पटक–पटक नेपाल सरकारले प्रयास गर्यो तर भारतले त्यसलाई सकरात्मक तवरले नलिएको बताएका छन्। आ–आफ्ना तर्फका प्रमाणहरु प्रस्तुत गरी वार्ता हुने उल्लेख गर्दै उनले भारतले नेपालको भूमि फिर्ता गर्नै पर्नेमा दृढता व्यक्त गरेका छन्।
प्रधानमन्त्रि ओलीले भने, कुटनीतिक सम्वादको माध्यमबाट समस्या समाधान हुनेछ । भारतले नेपालको हो भनि स्वीकार्नु पर्छ, फिर्ता गर्नैपर्छ । दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध रहेको छ। नरेन्द्र मोदीसँग सम्बन्ध सुमधुर रहेको छ । वार्ता र छलफल हुन्छ । उक्त समयमा तथ्य र प्रमाणहरु प्रस्तुत गरिने छ । तथ्य र प्रमाणको आधारमा नेपालको भूमि फिर्ता आउँछ ।’
आफ्नो सभ्यता प्रति नेपालीले गौरव गर्ने उल्लेख गर्दै उंले कसैको बहकाउमा नेपाली नलाग्ने समेत बताए। मर्यादाका सीमाहरु भारतीय मिडियाले उल्लंघन गरेको साथै परिस्थिती विगार्ने कार्यमा भारतीय मिडिया लागेको उल्लेख गर्दै उनले मिडियाले मात्र नकरात्मक हल्ला फैलाएको समेत स्पष्ट पारेका छन्।