madhu-sudhan-burlakoti

कोरोना जितेका प्रदेश सचिवको सुझाब यी प्रयोगहरु अपनाउनुहोस् कोरोनालाई सजिलै जित्न सकिन्छ

काठमाडौं, १४ भदौ। कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका बाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् । ‘

साथीभाइ र आफन्तजन भेट्न आउँदा आधा कोरोनामाथि विजयी हासिल गरेको जस्तो अनुभूति हुन्थ्यो,’ सचिव बुर्लाकोटीले भने ।
उनका अनुसार उच्च मनोबल लिएर नियमित र सन्तुलित जीवन जिउन सके कोरोनालाई सहजै जित्न सकिन्छ । तर, संक्रमितको सबैभन्दा ठूलो औषधि साथीभाइ र आफन्तहरूको भेटघाट नै भएको सचिव बुर्लाकोटीको अनुभव छ । ‘

सामाजिक दूरी कायम गरेर कोही भेट्न आउँदा आधा रोग सन्चो भएको अनुभूति हुन्थ्यो,’ बुर्लाकोटीले आफू आइसोलेसनमा बस्दाको अनुभूति सुनाए । ‘त्यसैले आफ्नो टोलमा पनि कोही संक्रमित भएको थाहा पाउनुभयो भने सुरक्षा विधि प्रयोग गरेर भेट्न जानुहोला, ती संक्रमितका लागि सबैभन्दा ठूलो औषधि त्यही भेटघाट हुनेछ,’ सचिव बुर्लाकोटीले भने ।

आफूलाई आफ्नो कार्यालयका दुई जना कर्मचारीले नियमित रूपमा भेटघाट गरी उत्प्रेरित गर्ने काम गरेकाले ती कर्मचारी आफ्ना लागि भगवान्सरह भएको बुर्लाकोटीको भनाइ छ । कोरोना संक्रमितलाई भेट्न जानेहरू संक्रमितका लागि भगवान्सरह हुने उनले बताए ।

अब संक्रमितलाई छिःछिः र दुरदुर गर्ने होइन, माया ममता दिँदै उत्प्रेरित गर्ने गरी सामाजिक अभियान सञ्चालन गर्नुपर्ने सचिव बुर्लाकोटीको सुझाव छ । ३० साउनमा कोरोना संक्रमित भएका बुर्लाकोटी १० भदौमा कोरोनामुक्त भएका थिए । बुर्लाकोटीका अनुसार उनलाई पहिलो दिन हल्का शरीर दुखेको र सामान्य ज्वरो आएको थियो ।

त्यसपछि एक दिन उनलाई टाउकोदेखि खुट्टासम्म दुख्यो । उनमा रुघा खोकी भने खासै देखिएन । परीक्षणपछि पोजिटिभ देखिएलगत्तै उनले सावधानी अपनाउँदै कार्यालयको आवासमै आइसोलेसनमा बसे । होम आइसोलेसनमा उनले मेडिकल औषधिको साटो जडीबुटी प्रयोग गरेको बताए ।

‘गुर्जो र बेसारपानी नियमित खान्थें, सन्तुलित आहारविहार गर्थें,’ उनले भने । उनले संक्रमितलाई हौसला आवश्यक पर्ने बताउँदै आफू कुनै छरछिमेकी वा साथीभाई कसैलाई संक्रमण भए एक टुक्रो स्याउ बोकेर पनि भेट्न जाने बताए । बुर्लाकोटीले आफूलाई संक्रमण भएपछि आफ्नै कार्यालयका केही व्यक्तिले हतोत्साही बनाउन खोजेको भन्दै त्यस्तो प्रवृत्तिले कोरोना संक्रमणमाथि विजयी हासिल हुन कठिन हुने बताए ।

‘मलाई संक्रमण हुँदा खुसी हुने र हतोत्साही बनाउन खोज्ने महान् नायक/नायिकालाई कहिल्यै पनि कोरोनाले नभेटोस् भन्ने प्रार्थना गर्दछु,’ उनले भनेका छन् । बुर्लाकोटीले आफ्नो ब्लड ग्रुप ‘बि पोजेटिभ’ रहेको बताउँदै आफू कोरोना संक्रमित मुक्त भएकाले अब कसैलाई आवश्यक पर्दा प्लाज्मा थेरापीका लागि रक्तदान गर्न इच्छुक रहेको स्पष्ट पारेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्