बिपी कोइराला

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्