Ghandruk

पोखराको दक्षिणभेगस्थित “हुडिकोट” हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै

पाेखरा, १३ असोज। पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । श्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

माछापुच्छे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्ने क्रम बढिरहेको छ । समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेको यो स्थलले समग्र भरतपोखरीको गरिमा र महत्व बढाएको यहाँका स्थानीयवासी बताउँछन् ।

बढ्दो पर्यटकीय आकर्षणसँगै पर्यटन लक्षित पूर्वाधार विकासले पनि गति लिएको छ । पछिल्ला समयमा बजार क्षेत्रको व्यस्ततालाई केही समय फुर्सद निकालेर भरतपोखरीको हुडिकोट जस्ता रमणीय स्थल हाइकिङ, दृश्यावलोकनका लागि पर्यटकले रोज्ने गरेको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताए।

“पोखरा र यस आसपासबाट पछिल्ला समयमा हाइकिङसहित दृश्यावलोकनका लागि हुडिकोट र आसपासका क्षेत्रमा आन्तरिक पर्यटक लोभिने गरेका छन्”, उनले भने, “क्लबले विशेषगरी पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पोखरा आसपासका स्थललाई प्रवद्र्धन गर्दै हाइकिङका माध्यमबाट प्रकृति र संस्कृतिलाई जोड्ने काम गर्दै आएको छ ।”

उच्च पहाडी भू–भागमा रहेको भरतपोखरीको हुडिकोट सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट माछापुच्छे, अन्नपूर्ण हिमालदेखि लमजुङ हिमाल सम्मका रमणीय दृश्यलाई एकसाथ नियाँल्न सकिन्छ ।

यहाँबाट कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् । पछिल्ला वर्षमा पोखराको विरौटा हुँदै पोखरा महानगरका बस र पोखराबाटै पावरहाउस, गगनगौंडा हुँदै मनियल डाँडासम्म स्थानीय मिनी बस गरी दुवैतर्फ सार्वजनिक यातायातसमेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसुस भएको छ ।

मनियलडाँडा बसपार्कबाट निजी सवारी साधन हुने हुडिकोटसम्म नै पुग्न सक्छन् भने नहुनेले करीब १५ मिनेट हिँड्नुपर्छ । पछिल्ला वर्षमा पर्यटकहरू आउने क्रम बढेसँगै मनियलडाँडा बसपार्कका साथै हुडिकोटमा नै होटल तथा रेस्टुरेन्ट बन्ने क्रमले पनि गति लिएको छ । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी हुडिकोटमा स्थानीय युवा धनबहादुर भुजेलले हुडिकोट भ्यू प्वाइन्ट सेन्टर नामक होटल हालै सञ्चालनमा ल्यायेआ छन्।

दीर्घकालीन लक्ष्यका साथ गत फागुनदेखि सञ्चालनमा ल्याइएको हुडिकोट भ्यू प्वाइन्ट सेन्टरमा हालसम्म रु २५ लाखभन्दा बढी लगानी भइसकेको भुजेलले बताए। होटल सञ्चालनमा आएयता पोखराबाट समूह समूहमा आन्तरिक पर्यटक आउने गरेको बताउँदै उनले हाल आवासीय रुपमा १० जनासम्म राख्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए।

“हुडिकोटमा आउने पर्यटकलाई हिमाली दृश्य सहितको प्राकृतिक सुन्दरतासँगै प्राङ्गारिक उत्पादनका खानाका परिकार खुवाउने सोचका साथ होटेल सञ्चालन थालेका हौँ”, उनले भने, “आगामी दशैँबाट होटलसँगै व्यावसायिक गाईपालनसमेत गरी पर्यटकको रोजाइअनुसार दूध, दही एवम् ताजा तरकारी खुवाउने सोच राखेका छौँ ।” स्थानीय जातका कुखुरासमेत पाल्ने र पर्यटकलाई स्थानीय प्राङ्गारिक उत्पादन खुवाउने दीर्घकालीन लक्ष्य रहेको उनले बताए ।

चौबिसै घण्टा शीतल हावा लागिरहने हुडिकोट पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्थिति एवम् दृश्यावलोकनमा मोहित हुने गरेका छन् । हुडिकोटसम्म पुग्ने हाइकिङका मार्गमा पृथ्वीराजमार्गअन्तर्गत पावरहाउस चोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दूरी नौ किलोमिटर पार गर्नुपर्छ ।

हुडिकोट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्