कोरोना संक्रमण

सरकारले समयमा गम्भिर नहुदाँ कोरोना संक्रमणमा बृद्धि

कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ ।

शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपालीमा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । सङ्क्रमित नेपालीमध्ये ८९ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारले समयमा गम्भिर नहुदाँ कोरोना संक्रमणमा बृद्धि भएको विचार व्यक्त गरेका छन् । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन् ।

शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताए । विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताए । उनले विपद् तथा महामारी विरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए । विपदको बेला राजनीतिक नेतृत्वले नियमित भन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे ।

पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताए । एनआरएनए, आईसिसी उपाध्यक्ष डा. बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताए । नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा. केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्धारको दस्ताबेज बनाएर काम भइरहेको बताए ।

एनआरएनए, स्वास्थ्य समिति संयोजक डा. सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताए । यो सत्रमा गैरआवासिय नेपाली संघका डा. अलिनी सुवेदी, डा. कुस श्रेष्ठ, डा. द्रोण रसाली, डा. हेमराज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्