death

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्‍यु

काठमाडौँ, १ कत्तिक । कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यस्तै शनिबार, गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित थपिएका हुन् ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितमध्ये बागलुङ जैमिनीका दुबैजना संक्रमित जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बसेका छन् भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवगडी–११ झापाका ५६ वर्षीय पुरुष र धरान–१५ सुनसरीका ६५ वर्षीय पुरुष रहेका छन् ।

मृत्यु हुने दुवै पुरुष दीर्घ रोगी भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । अस्पतालले नियामानुसार शवको व्यवस्थापन हुने जानकारी दिएको छ ।

यता, खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोग बाट समेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

त्यस्तै, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वास प्रश्वासमा समस्या थियो । सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो । मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो ।

श्वास प्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको छ । उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भईरहेको जानकारी दिए । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *