कोरोना भाइरस विरुद्धको एन्टीबडी बेलायती जनसंख्यामा चाँडो रुपमा घटेको एक अध्ययनले देखाएको छ । यसले संक्रमणपछि शरीरमा भाइरस विरुद्धको प्रतिरोधी क्षमता दीर्घकालिन रुपमा नरहने संकेत गरेको अध्ययन कर्ताहरुले बताएका छन् ।
इपेरियल कलेज लन्डनका वैज्ञानिकहरुले मार्च र अप्रिलमा कोभिड–१९ को पहिलो चरणको लहर पछि मानिसहरुमा रहेको एन्टीबडी बारे अध्ययन गरेका थिए । उनीहरुको अध्ययनमा जुनमा ६ प्रतिशत जनसंख्यामा एन्टीबडी पाइएकोमा सेप्टेम्बरमा यो घटेर ४.४ प्रतिशत पुगेको देखिएको हो । दोस्रो लहर अघि धेरै जनामा संक्रमण विरुद्ध प्रतिरोधी क्षमता कम भएको अध्ययनले देखाएको छ ।
कोरोना भाइरस विरुद्धको प्रतिरोधी क्षमता निकै जटिल रहको छ । यस विरुद्ध प्रतिरोधी क्षमताका लागि टी सेल र बी सेल जिम्मेवार हुने बताइन्छ । तर, अध्ययनकर्ताहरुले भने एकपटक संक्रमित भएपछि पनि प्रतिरोधी क्षमता लामो समय नटिक्ने बताएका छन् ।
पीसीआर परिक्षण गरेर कोभिड–१९ को पुष्टि भएकाहरुको तुलनामा लक्षण नदेखिएका र आफू संक्रमित बनेको थाहा नै नभएकाहरुको एन्टीबडीमा चाँडै ह्रास आएको अध्ययनमा देखिएको छ ।
निरन्तर भाइरसको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा भने एन्टीबडीको मात्रामा कुनै कमी देखिएन । यसअघि, जर्मनीमा गरिएको अध्ययनमा कोरोना भाइरसको हटस्पट बनेका क्षेत्रहरुका मानिसमा कोभिड–१९ विरुद्धको एन्टीबडी पाइएको थिएन । एजेन्सी