पर्वत, १९ कार्तिक । कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरमा फैलिए पछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ ।
त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशिला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेला सम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँड्डुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना सङ्क्रमण फैलन नदिन गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठक बसेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा दुई जनामा सङ्क्रमण देखिए पछि थप जोखिम नफैलियोस् भनेर लकडाउन गरिएको हो ।
यता जलजलाको मङ्गलबार सम्पन्न गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले गाउँपालिकाका वडामा सङ्क्रमण फैलन नदिनका लागि बुधबार देखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।
पछिल्लो समय छिमेकी जिल्ला र स्थानीय तहमा लकडाउन घोषणा भए पछि जलजला गाउँपालिकामा पनि थप सङ्क्रमण नफैलियोस् भनेर लकडाउन गर्ने निर्णय गरिएको जलजलाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समितिको मङ्गलबारको बैठकले आजदेखि यही कात्तिक २५ गतेसम्म गाउँपालिका भरि लकडाउन गर्ने निर्णय गरेको अधिकृत शर्माले जानकारी दिए ।
बैठकले गाउँपालिका भित्र सञ्चालित सबै वित्तीय संस्था, सहकारी संस्थाका कामकाज ठप्प पार्ने, मुख्य बजार क्षेत्र मिलनचोक, मोहनचोक, वारीवेनी, बगरफाँट, लस्तीलगायतका क्षेत्र बन्द गर्ने, निर्णय गरेको छ ।