पोखरा, २३ कार्तिक । पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गत असोज दुई गतेबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाती दिन भन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो ।
फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन् ।
फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । साबुन पानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । तापक्रम नापेपछि लाइफ ज्याकेट लगाएर डुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ ।
प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइजर गरेर पुनः प्रयोगमा ल्याइने गरिएको छ । विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् ।
