बैतडी बस दुर्घटनाका मृतक ९ जनाकै पहिचान खुल्यो

दुर्घटना

बैतडी, २८ कत्तिक । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खस्दा उक्त दुर्घटना हुन गएको हो । मृतक मध्ये सात जना पुरुष र दुई जना महिला छन् । मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र प्रसाद जोशी र सोही ठाउँकै २७ वर्षीय करन सिंह ऐडी रहेका छन् । यस्तै दार्चुला खरकडा बस्ने तर्कराज गिरी, कञ्चनपुर भिमदत्त न.पा. घर भएकी १५ वर्षीया कृतिका कार्की र बैतडी घर भएका कञ्चनपुरमा कार्यरत प्रहरी जवान रणबहादुर चन्दको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का विज्ना धामी, धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको हो । मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने ४ जना डिस्चार्ज भइसकेका छन् । यस्तै बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्