काठमाडौं, ०७ मंसिर। कोरोना भाइरस संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणपछि उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
सप्तरीको राजविराज स्थायी ठेगाना भएर सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) देवको गएराति विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको युनियनले जनाएको छ । देवले ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए ।
युनियनका अध्यक्ष उज्वलकुमार शर्माले स्वास्थ्यमा समस्या भएपछि देवलाई १७ दिन अघि नोवेल अस्पताल लगिएको बताए । ‘जाँदा जाँदै आईसीयूमा राखियो । तीन दिनपछि भेन्टिलेटरमा सारियो । तर दुई दिन अघि भने उहाँलाई पुन आइसीयूमा सारिएको थियो,’ शर्माले भने ।
उनले नोवेलमै पुगेपछि कोरोना परीक्षण गरिएको कोरोना पुष्टि भएकाले उनी अस्पताल ढिला पुगेको हो कि भन्ने आफूलाई लागेको समेत शर्माले बताए । देवको परिवारमा बाबु आमा श्रीमती, छोरा छोरी रहेका छन् । नेपाल स्वास्थ्यकर्मी युनियनले देवको निधनमा दुःख व्यक्त गर्दै कुशल युनियनकर्मी गुमाएको जनाएको छ ।