रुकुम, १३ मंसिर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिजो साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
४ जनाको घटनास्थलमा र ५८ वर्षीय लाल बहादुर नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए । गएराति आठबिसकोट–१० घारीखोला जाँदै गरेको ग १ ज ५८९ नम्बरको जीप दुर्घटना भएको थियो । जिप सडकबाट १ सय मिटर तल खसेको थियो ।
चालक दिल बहादुर नेपाली र जिपका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिए । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
