एक दशक लामो करिअरमा अभिनेत्री केकी अधिकारीले पहिलो पटक फिल्म ‘छ माया छपक्कै’ बाट सफलता हात पारिन् । २५ वटा फिल्मको असफलतापछि उनले सफलता हासिल गरेकी हुन् । फिल्मको असफलताले उनको करिअरमा खासै ठूलो प्रभाव भने पारेको थिएन । फिल्ममा उनलाई भ्याइनभ्याइ थियो । अभिनयमा अब्बल भएकाले उनी कहिल्यै कामविहीन हुनु परेन ।
लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको चलचित्र ‘प्रदेशी २’ बिहीवार देखि पाल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । यो चलचित्रमा केकीले निर्वाह गरेको भूमिकाको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, सोमवार केकीले चलचित्रको सुटिङ सेटबाट आँफू दुलहीको भेषमा सजिएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् ।
फिल्ममा प्रकाश सपुत, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा रहेका कारण उनी कसकी दुलही बनेकी हुन्, यो भने खुलेको छैन । अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संघर्षको कथा उठान गरेको फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा छिन् । २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’ लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । केकी पनि आफ्नो करिअरमा अर्को सफल फिल्म थपिनेमा विश्वस्त छिन् । यो चलचित्रबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।