काठमाडौँ, २२ मङ्सिर। ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक मोटरसाइकल चालक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई चाहविल बस्ने ३५ वर्षीय उज्जवल आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा ३३ प ६५ नम्बरको मोटरसाइकल विमानस्थलमा अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरी समर्पण केसीले चालकमाथि कारबाही गर्न खोजे ।
आचार्यले ती प्रहरीलाई १६० रुपैयाँ घुसको प्रस्ताव गरे । त्यसलगत्तै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आचार्यलाई पक्राउ गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा बुझाइएको एसएसपी भट्टराईले बताए ।