विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक

Mt. Everest - सगरमाथा

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो जसमा चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।

अहिले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। आयोजित पत्रकार सम्मेलनमा दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएकाे हाे ।

सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए।

सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो।

नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो। सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए।उनीहरूले पनि भू-उपग्रहण प्रणाली र राडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेका थिए।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर