काठमाडौँ, २३ मङ्सिर। झण्डै ३ घण्टाको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ । बैठकमा कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । देशभर राजावादीको आन्दोलन चर्किएसँगै यसबारे छलफलका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् ।
बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन पनि आह्वान गरेका छन् ।
सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे ।
संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए ।