काठमाडाै, २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको निधन भएको हो । गत मंसिर १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।
लामाको निधनप्रति नेकपा अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका छन् । प्रचण्डले दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेक छन् ।
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आ’त्मनिर्णयको अधिकारको आ’न्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् । जुझारु र बौद्धिक व्यक्तित्वका धनी लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न आफूले उनको अभावको महशुस गरेको प्रचण्डले आफ्नो शोक वक्तव्यमार्फत भनेका छन् ।
लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिंह लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य रहेका थिए ।
