काठमाण्डौ, २६ मंसिर । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन् ।
शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उनले सामूहिक छलफल गरेका हुन् । जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरिएको जनाइएको छ ।
बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।
