गरिब मुलुकले अझै एक वर्ष कोरोनाको खोप नपाउने खतरा

भ्याक्सिन

जर्मन कम्पनी बायोनटेकले अमेरिकी औषधी निर्माता फाइजरसँगको सहकार्यमा तयार गरेको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । र, ब्रिटिसहरुले खोपको पहिलो डोज पनि लिइसकेका छन् । यो खोपले ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । मोडर्ना कम्पनीले तयार गरेको खोपले पनि तेस्रो चरणको परीक्षण सम्पन्न गरिसकेको छ र नतिजा ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । यस खोपले पनि प्रयोगको अनुमति मागिसकेको छ ।

तर, यी दुबै खोपलाई लिएर तेस्रो विश्वमा जुन उत्साह देखिएको छ । त्यो अपेक्षा पूरा नहुने लगभग तय छ । यसका दुई कारण छन् – पहिलो मोडर्ना खोपको झन्डै १ सय प्रतिशत र फाइजरको ९६ प्रतिशत डोज धनी देशहरुले किन्ने सम्झौता भइसकेको छ । त्यसैले तेस्रो विश्वले यी खोपका लागि अर्को एक वर्ष कुर्नुपर्ने हुनसक्छ ।

अर्को, अति चिसोमा भण्डारण गर्नुपर्ने भएकाले तेस्रो विश्व र विशेषगरी अफ्रिकामा यसको वितरण सहज हुनेछैन । यद्यपी, अमेरिका र युरोपको आवश्यकतालाई भने यसले पुर्ती गर्नेछ । प्रयोगका लागि स्वीकृति पाइसकेको अर्को भ्याक्सिन स्पुतनिक पाँचौ हो । गत अगस्टमै यसले रुस सरकारबाट स्वीकृति पाएको थियो, जतिबेला तेस्रो चरणको परीक्षण नै भएको थिएन ।

तेस्रो चरणको परीक्षण अन्ततः सम्पन्न भएको छ र यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी छ । भर्खरै रुसले आफ्नो ठूलो जनसंख्यामा यो खोप लगाउन थालेको छ । रुसले विभिन्न देशहरुसँग यस भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

तर, रुसमा ठूलो संख्यामा संक्रमितहरु रहेका कारण आफ्नै जनसंख्यालाई पुग्ने खोप उत्पादन गर्न उसलाई धौ–धौ परिरहेको छ । त्यसैले सम्झौता बमोजिम उसले समयमै भ्याक्सिनका डोजहरु अन्य देशलाई उपलब्ध गराउनु चुनौतीपूर्ण छ । सम्झौता नगरेका देशहरुले खोप पाउनका लागि अझै कति धेरै प्रतिक्षा गर्नुपर्ने भन्ने स्पष्ट छैन ।

किन हामीलाई खोप आवश्यक पर्छ ?

विश्वको ठूलो जनसंख्या कोरोना भाइरसबाट प्रताडित छ । धेरै देशमा लागु गरिएका विभिन्न खाले प्रतिबन्धले मृतक संख्या बढ्नबाट र संक्रमण रोक्ने काम गरेको छ । मास्कको प्रयोगले पनि कोरोना संक्रमणको फैलावटलाई कम गरेको छ । यद्यपी, यो अचुक उपाय हुँदै होइन । न त यो उपचार नै हो । यो केवल रोकथामको प्रक्रियामात्रै हो ।

यस्तोमा खोपको विकासले कोरोना न्युनिकरणमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । खोपले हाम्रो शरीरलाई संक्रमणविरुद्ध लड्न सिकाउँछ । यसले कोरोना भाइरस सर्नबाट रोक्छ वा कम्तिमा त्यसलाई कम प्राणघातक बनाउँछ । खोपसँगै अन्य राम्रा उपचार विधिहरु प्रयोग गर्नु कोरोनामुक्त हुने दिशामा महत्त्वपूर्ण रणनीति हुनसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

यी खोप अन्तिम चरणमा

अमेरिकाको मोडर्ना कम्पनीले तयार गरेको खोप अन्तिम चरणको परीक्षण सकेर प्रयोगको अनुमति पाउनले प्रतिक्षामा छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा तयार गरेको खोपको प्रभावकारीता ७० प्रतिशत देखिएको छ । यस खोपको तथ्याङ्कले वृद्धवृद्धामा खोप लगाएपछि प्रतिरोधी प्रतिक्रिया अझै सशक्त बनेको देखाउँछ ।

जतिबेला यो खोपको पूर्ण डोज तयार हुन्छ, त्यतिबेलासम्म यसको प्रभावकारीता ९० प्रतिशतसम्म पुग्नसक्ने अपेक्षा गरिएको छ । वितरणका लागि सहज मानिएका भ्याक्सिनमध्ये यो एक हो किनकी यसलाई धेरै चिसो तापक्रममा भण्डारण गर्नुपर्ने जरुरी छैन । चिम्पान्जीको कमजोर भर्सनको कमनकोल्ड भाइरसबाट यो खोप निर्माण गरिएको हो, यस भाइरसलाई मानिसमा विकसित हुन नसक्नेगरी संशोधित गरिएको छ ।

चीनले पाँचवटा खोप ल्याउँदै

चीनका चारवटा कम्पनीले पाँचवटा खोप ल्याउने तयारी गरिरहेका छन् । यी खोपहरु अहिले विभिन्न देशमा अन्तिम चरणको परीक्षणका क्रममा छन् । चिनियाँ खोपहरुको परीक्षण अहिले कम्तिमा १६ देशमा चलिरहेको छ । चीनको सबैभन्दा ठूलो सरकारी औषधी कम्पनी सिनोफार्मअन्तर्गतको चिनियाँ राष्ट्रिय बायोटेक समूहले आफ्ना दुईवटा भ्याक्सिनहरु १० वटा देशमा परीक्षण गरिरहेको छ ।

त्यस्तै, सिनोभ्याक बायोटेक कम्पनी, अन्हुई झिफेइ लङकम बायोलोजिक फार्मेसीले एक–एकवटा तथा चिनियाँ सेनाको अनुसन्धान टोलीले बायोटेक कम्पनी क्यान्सिनोसँग थप एउटा भ्याक्सिन विकास गरिसकेका छन् । यी भ्याक्सिनहरु अहिले तेस्रो चरणको परीक्षणमा छन् ।

वितरणको चिन्ता ?

धमाधम खोप निर्माण भएसँगै यसको समान वितरणको विषय अहिले पेचिलो बन्न थालेको छ । एकातर्फ धनी देशहरुले भ्याक्सिन कब्जा गर्ने होडबाजी र अर्कोतर्फ तापक्रमको विषयले चिन्ता उत्पन्न गरेको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले खोप निर्माण कम्पनी र सम्बन्धित देशले सम्पूर्ण विश्वको जनसंख्यालाई ध्यानमा राखेर खोप वितरण गर्नुपर्ने विषयमा जोड दिँदैं आएको छ । जबकी, ठूला कम्पनीहरुले धनी देशहरुलाई कराडौंँ डोज भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेका छन् ।

धनी देशहरुले आवश्यकताभन्दा धेरै खोप भण्डारण गर्दा गरिब देशहरु खोप पाउनबाट बञ्चित हुनसक्ने चिन्ता डब्ल्यूएचओका अधिकारीहरुले व्यक्त गर्दै आइरहेका छन् ।

अक्सफाम र एम्नेस्टी इन्टरनेशनलजस्ता संस्था समावेश पिपुल्स भ्याक्सिन एलाईन्स नामक संस्थाको रिर्पोटअनुसार धनी देशहरुले आगामी वर्षको अन्त्यसम्म आफ्ना जनतालाई तीन पटकसम्म लगाउन मिल्नेगरी भ्याक्सिन भण्डारण गरिरहेका छन् ।

यस रिपोर्टअनुसार र मोडर्ना भ्याक्सिनका सबै डोज तथा फाइनजरका ९६ प्रतिशत डोज उनीहरुले किनिसकेका छन् । विश्वको केवल १४ प्रतिशत जनसंख्याले अति प्रभावकारी भ्याक्सिनका ५३ प्रतिशत डोज खरिद गरिसकेकाले बाँकी ८६ प्रतिशत जनसंख्या समयमै खोप पाउनबाट बञ्चित हुनसक्ने चिन्ता छ ।

खोप प्राप्त गर्ने मामिलामा केन्या, म्यान्मार, नाइजेरिया, पाकिस्तान र युक्रेन पछाडि पर्ने देखिन्छ, जबकी यी सबै देशको कुल १५ लाख जनसंख्यामा कोरोना देखिएको छ । अर्को वर्षसम्म अधिकतम रुपमा केवल विश्वको १८ प्रतिशत जनसंख्यामा मात्रै भ्याक्सिन आपूर्ति हुने एलाइन्सको अनुमान छ ।

एम्नेस्टी इन्टरनेशनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टेफेन ककवर्नले भनेका छन्, ‘कोभिड १९ बाट सबैतिर सबैजनालाई सुरक्षा दिन सकिन्छ भनेर सुनिश्चित गर्ने विश्वव्यापी प्रयासलाई भ्याक्सिनको भण्डारणले सक्रिय रुपमा अवमूल्यन गरेको छ ।’

डब्ल्युएचओको इम्युनिजेशन र भ्याक्सिन विभागका प्रमुख केट ओ ब्राइनले भ्याक्सिन निर्माणलाई सगरमाथाको आधार शिविरसँग तुलना गरेकी छिन् । ‘शिखर चढ्नु चाहिँ यसको वितरण हो,’ गत महिना उनले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

तापक्रम कायम राख्नु चुनौतीपूर्ण

फाइजर र मोडर्नाका दुबै भ्याक्सिनहरुले शरीरमा कोरोना भाइरसको साइन्थेटिक टुक्रा बनाउन र प्रतिरक्षा प्रतिक्रियालाई प्रेरित गर्नका लागि म्यासेन्जर आरएनए (एमआरएनए) नामक आनुवंशिक मेटेरियलको टुक्रा प्रयोग गर्छन्, यो नयाँ प्रविधि विद्यमान भ्याक्सिनहरुमा प्रयोग भएको छैन । तर, कोठाको सामान्य तापक्रममा एमआरएनए कमजोर हुन्छ ।

मोडर्नाको भ्याक्सिनलाई माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ वा ३० दिनसम्म रेफ्रिजिरेटरको तापक्रममा राख्नुपर्छ । फाइजरको भ्याक्सिनलाई अझै चिसो तापक्रम अर्थात् माइनस ७५ डिग्री सेल्सियसमा राख्नुपर्छ र उच्च चिसोमा राखेको पाँचदिनभित्र प्रयोग गर्नुपर्छ । यस्तो प्रविधिको तेस्रो विश्वमा अभाव छ । त्यसैले, गरिब देशहरुमा यी भ्याक्सिनको प्रभावकारी वितरण चुनौतीपूर्ण हुने देखिन्छ ।

रुसी भ्याक्सिन स्पुतनिक पाँचौ, बेलायती अक्सफोर्ड तथा एस्ट्रोजेनेकाको भ्याक्सिन तथा चिनियाँ कम्पनी सिनेफार्म, सिनो भ्याक र क्यान्सिनोका खोप रेफ्रिजेरेटरको सामान्य तापक्रम अर्थात् (२ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियससम्ममा) भण्डारण गर्न मिल्नेगरी तयार गरिएको छ । त्यसैले, विश्वव्यापी वितरणका लागि यी भ्याक्सिन तुलनात्मक रुपमा प्रभावकारी हुने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्