श्रीमान श्रीमती एउटै रथका दुई पांग्रा हुन् । प्राय: श्रीमान जुन पार्टीमा भयो श्रीमती पनि त्यहि पार्टीमा हुनपर्छ भन्ने त छैन तरपनि प्राय एउटै पार्टीको समर्थन हुने गरेको सुन्निछ । यसैबीच भारतमा भारतीय जनता पार्टी (बिजेपी) का नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल आफु बिपरित अर्कै पार्टीमा प्रवेश गरेको भन्दै उनीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् ।
पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको हो । पश्चिम बङ्गालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सोमबार श्रीमती खानले बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन् । उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन् ।
त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरे । उनले श्रीमतीलाई आफ्नो थर प्रयोग नगर्न समेत भनेका छन् । उनले भने, ‘कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू । म तपाईँलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु ।’
‘टीएमसीले मेरो श्रीमती चोर्यो, मेरो माया लग्यो’, उनलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको कुरा बीबीसी नेपालीमा उल्लेख छ । यो घटनापछि विभिन्न पत्रपत्रिकाले यी दुईको अन्तर्वार्ता छापेका छन् । ‘उनी मेरो माया थिइन् । उनी साह्रै राम्रो श्रीमती थिइन् । उनी मेरो एकमात्र कमजोरी थिइन्’, श्रीमान् खानले एक पत्रकारलाई भनेका छन् ।
उनले आफ्नो निर्वाचनमा श्रीमतीको भूमिका रहेको स्वीकारेका छन् । एक मुद्दाका कारण आफ्नै निर्वाचन क्षेत्रमा जान प्रतिबन्ध लागेका खानका लागि श्रीमतीले चुनावी अभियान नेतृत्व गरेकी थिइन् । अन्य एक पत्रकारलाई श्रीमतीलाई यथोचित सम्मान नभएको कुरा गलत भएको दाबी गर्दै उनले भने, ‘मोदीले उनलाई बहिनी भन्छन् । योभन्दा बढी के चाहियो ?’ श्रीमती खानले आफूलाई श्रीमानले वास्ता नगरेको बताइन् । ‘उनी राजनीतिमा व्यस्त भए । मेरो लागि समय दिएनन् । उनले महिनौँ देखि मैले खाएँ कि खाइनँ भनेर पनि सोधेका छैनन् ।’
