काठमाडौँ, १२ पुष। चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको सन्दर्भमा छलफल र संवादका लागि चिनियाँ उच्च अधिकारीक नेपाल भ्रमणमा आएको हो।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अबस्थामा यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । सो टोली आउनुअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले निकै सक्रियता जनाएकी थिइन् ।
यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।
यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकारी दिएको छैन। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको हो।