न वैशाखमा चुनाव हुन्छ, न त ओली प्रधानमन्त्री रहिरहनुहुन्छ : वर्षमान पुन

वर्षमान पुन

काठमाडौं, १५ पुष । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् ।

गृह जिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको उनले बताए ।

‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ’, निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने स्पष्ट गरे । ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’, उनले भने, ‘वर्षौँसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

पुनले जनप्रतिनिधि विहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न ओलीलाई सुझाव दिए । आफैले मिचेको संविधानलाई पूरानै ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनको भनाइ छ । ‘नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, पुनको चेतावनी थियो ।

ओलीलाई शेरबहादुर देउवाको विगत स्मरण गर्न पनि पुनले सुझाव दिए । पुनले भने, ‘शेरबहादुर देउवाले ५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफै जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो । राजनीतिक इतिहास बुझ्दा ओलीजीलाई राम्रै होला ।’

पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको टिप्पणी गरे । निर्वाचन घोषणा गरिसकेको सरकारलाई कामचलाउन नभनेर राष्ट्रपतिले समेत संविधान उल्लंघन गरेको चर्चा पुनले गरे । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो ।’ चुनावी सरकारलाई कतै पनि काम चलाउ सरकार भनी उल्लेख नगरेको भन्दै आपत्ति जनाए ।

वर्षमान पुन
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्