बुटवल, १६ पुष । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन् ।
गत पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी गरेको थियो ।
६ दिन बित्दासमेत कारवाही नभएको गुनासो गर्दै धर्ना दिएका हुन् । अस्पतालका प्रवक्ता डा विष्णु गौतमले प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले आकस्मिक कक्षमा धर्ना दिएको बताए ।
कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले जानेर बिरामीको ज्यान जोखिममा पार्ने नभई बिरामीलाई निको बनाउने प्रयासमा रहने भए पनि आफूहरूमाथि हातपात हुने गरेका घटना भने नघटेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
बिरामीका आफन्तहरूको सहयोगले नै बिरामीहरूको उपचारमा सघाउ पुर्याउनु पर्नेमा कुरुवाहरू संवेदनशील नबन्दा आफूहरू असुरक्षित भइरहनु परेकोले अस्पतालमै धर्ना दिन बाध्य भएको स्वास्थ्यकर्मी राजेन्द्र राईले बताए । राईले दोषीमाथि कारबाही नहुँदासम्म आफूहरूको धर्ना जारी रहने बताए ।