काठमाडौँ, २० पुष। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । लामो समयदेखि विरामी रहेकी प्रचण्डकी पत्नी दाहालको उपचार यसअघि मेडिसीटी अस्पतालमा चलिरहेको थियो ।
त्यहाँ उनको स्वास्थ्यमा खासै सुधार नदेखिएपछि थप उपचारका लागि सीता दाहाललाई भारतको मुम्बई लान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । पत्नी सीताको उपचारका लागि अध्यक्ष दाहाल पनि उनीसँगै भारत प्रस्थान गरेका छन्। यसअघि सीता दाहाललाई अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार गराइएको थियो ।
