पोखरा,२१ पुष । गण्डकी प्रदेशमा आउँदो फागुन २० गतेदेखि पर्वतीय खेलकुद महोत्सव आयोजना हुने भएको छ ।माउन्टेन स्पोर्टस फेडेरेशनको आयोजनामा परम्परागत तथा शाहसिक पर्वतीय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवर्द्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले सोमबार पोखरामा आयोजित कार्यक्रममा बताए ।

उनले चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने भएको पनि जानकारी दिए। रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली देशका खेलाडी सहभागी हुनेछन् ।
महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ ।गण्डकी प्रदेशको राजधानी सहर पोखरासहित मुस्ताङ, बाग्लुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिएका हुन् ।
महोत्सव सम्पन्न गर्न एक करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए।