पोखरा, २८ पुष । अनलाइनका माध्यमबाट रेष्टुरेन्टका खाना तथा खाजाहरु अर्डर तथा होमडेलिभरी सेवा प्रदान गर्नेगरी ‘फुडजोन पोखरा’ ले सेवा सुरु गर्ने भएको छ । पोखराका युवा व्यवसायी चेतन अधिकारीको लगानीमा माघ १ गतेबाट फुडजोन सञ्चालनमा आउन लागेको हो ।
फुडजोन पोखरा वेबसाइटमा गएर ग्राहकले आफ्नो इच्छा अनुसारको रेष्टुरेन्ट चयन गरी खाना तथा खाजा अर्डर गर्न सक्ने कम्पनीका सञ्चालक चेतन अधिकारीले जानकारी दिए । बिहान ८ बजेदेखि राति ११ बजेसम्म अर्डर गर्न सकिने र होमडेलिभरी सेवा प्रदान गरिने अधिकारीले बताएका छन् ।
होम डेलिभरी निःशुल्क हुने कम्पनीले जनाएको छ । पहिलो चरणमा पोखरा क्षेत्रमा मात्रै सेवा प्रदान गरिने अधिकारीले जानकारी दिए । निकट भविष्यमा घरघरमा फलफुल तथा प्रशोधित तरकारीसमेत डेलिभरी गर्ने योजना कम्पनीले लिएको पनि जनाइएको छ ।