विगत ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै करिश्मा

karishma manandhar

अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा नेपालमा फिल्म निर्माणले भर्खर-भर्खर गति लिन थालेको थियो । १४ वर्षको कलिलो उमेरमा फिल्म ‘सन्तान’ बाट अभिनय करिअर सुरु गरेकी उनले फिल्म क्षेत्रमा तीन दशक विताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गरिसकेकी करिश्मा आफ्नो समयकी सबैभन्दा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

करिअरको उत्कर्षमा रहँदा ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म दिएकी उनले फिल्म निर्माणमा समेत हात हालेकी छन् । ‘ढुकढुकी’ बाट राम्रो मुनाफा कमाएकी उनलाई ‘बाबुसाहेब’ ले भने नराम्रोसँग डुबायो । यसपछि निराश भएर २०६१ सालमा अमेरिका गएकी उनी करीब ९ वर्ष त्यहीँ बसिन् ।

अमेरिकामा रहँदा उनी ‘नेम र फ्रेम’ बाट टाढा थिइन् । जसका कारण उनी खुसी हुन सकेकी थिइनन् । तर, अमेरिका छाडेर उनी नेपाल फर्किन पनि सकेकी थिइनन् । एपी वान टेलिभिजनले सुरु गरेको ‘किताव जात्रा’ को ‘पर्दा भित्र र पर्दा बाहिर’ सेसनमा अभिनेत्री मानन्धरले लेखक कर्ण शाक्यको किताबमा उल्लेख भएका तीन वटा शब्दले आफूलाई नेपाल फर्काएको बताएकी छन् ।

‘मेरो जीवनमा प्रभाव परेको किताब कर्ण शाक्यको हो, जसबाट प्रभावित भएर मैले जीवनमा नै लागू गरेँ । त्यो किताब विनोद जीले गिफ्ट गर्नुभएको थियो । त्यसबेला म अमेरिकामा बसिरहेको थिएँ । म त्यहाँ बस्न चाहन्न थिएँ । तर, नेपाल फर्किन पनि सकेको थिइनँ । अमेरिकामा नै बस्ने वा नेपाल फर्किने भन्ने निर्णय लिन मलाई अत्यन्त कठिन भएको थियो,’ उनले भनिन् ।

करिश्मा अगाडि भन्छिन्, ‘त्यो अवस्थामा कर्ण शाक्यको किताबमा भनिएको तीनवटा कुराले मेरो जीवनमा एउटा निर्णय लिने शक्ति प्रदान गर्‍यो । किताबमा भनिएको थियो, जब मान्छे देश छाडेर विदेश जान्छ तब ऊ रुटलेस, नेमलेस र फेशलेस हुन्छ । त्यो ठाउँमा तिमी आफूलाई कसरी टिकाउन सक्छौं भन्ने कुराले मलाई असाध्धै छायो । म बस्ने धर्ती त मुलुकै हो भनेर नेपाल फर्किएँ ।’

आउँदो नयाँ वर्षभित्र आफुले आत्मकथा ल्याउने अभिनेत्री मानन्धरले बताइन् । ‘आत्मकथा ल्याउछु भनेको धेरै भयो । केही काम भएका छन्’ अभिनेत्री मानन्धरले भनिन्, ‘यो फागुन महिना पुरै म त्यसको लेखनमा लागि पर्नेछु ।’ फागुनमा लेखेर सकिए चैत्रमा डिजाइन, प्रिन्टिङ गरेर वैशाख १ गते पुस्तक बजारमा ल्याउने आफ्नो योजना रहेको करिस्माले सुनाइन् ।

विगत ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफुले अभिनयमा बिताएका, अभिनय क्रममा महसुस गरेका र सोचेका बिभिन्न विषयवस्तुहरु समेट्न लागेकी छन् । आफ्नो जीवनका उतारचढाव समेत कितावमा समेटिने उनले बताइन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक