दक्षिण कोरियामा गत डिसेम्बर देखि कोरना माहामारीको तेस्रो लहर फैलिए पछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कट पछिको पहिलो हो ।
कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबै भन्दा बढी छन् । त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जन स्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् ।
कोरोना महामारीकै कारण हाल सम्म रोजगारी गुमाउनेको सङ्ख्या २५.८ मिलियन छ । हाल सम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या आठ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।
त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्ष रुपमा असर पर्ने बताउँछन् । कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन ।
यो पनि पढ्नुहोस :-
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचार अनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको समाचारमा जनाइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या केही दिनयताकै धेरै रहेको बताइएको छ ।
योसँगै यहाँका सङ्क्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति सङ्क्रमित थपिएका पनि बताइएको छ । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ । यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा सङ्क्रमण भएको देखिएको छ ।
पछिल्लो २४ घन्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ । यो मृत्युपछि यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ५२७ जना पुगेको बताइएको छ । शुरुमा यहाँका सङ्क्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको थियो । तर पछिल्ला महिनाहरुमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रुपमा भाइरसका सङ्क्रमितहरु बढेका बताइएको छ ।
यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको हो । दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका नागरिकको भाइरसका कारण संक्रमितहरु मध्ये १.८२ प्रतिशतको ज्यान गएको बताएका छन् । -एजेन्सी