चुनाव हुन्छ वा हुँदैन, अदालतको निर्णय आउन बाँकी, निर्वाचन आयोगले अघि बढायो चुनावको तयारी

निर्वाचन आयोग

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो हप्ता भित्र सम्पन्न गर्ने तयारी गरेको छ । वैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो हप्ता भित्र नामावली अध्यावधिक गर्ने काम सम्पन्न गर्ने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । चुनावको तयारी अनुसार आयोगले अहिले तयार भएको निर्वाचन आचार संहिता बारे राजनीतिक दलहरु सँग परामर्शको काम गरिरहेको छ ।

राजनीतिक दलहरुले चुनाव प्रचार-प्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्ने/नराख्ने, निर्वाचन खर्च लगायत बारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आयोगले सुझावलाई समेत समेटेर स्वीकृत गरे पछि आचार संहिता लागू हुनेछ । आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

जनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको हो । आयोगले सार्वजनिक खरिद ऐन २०६४ र नियमावली अनुसार नियमित प्रक्रिया बाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न संभव नहुने भएकाले फास्टट्रक बाट सामाग्री खरिद गर्न बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको आयोगको बैठकले मंगलबार देखि ७ दिनको समय दिएर बोलपत्र आह्वान गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । निर्णयमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।’

आयोगले चुनावका लागि मतदान केन्द्रमा चाहिने सामाग्रीलाई ११ समूहमा विभाजन गरेर खरिद गर्न लागेको हो । चुनाव गर्न ६७ किसिमका सामाग्री चाहिने आयोगका एक कर्मचारीले बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै परेका रिट निवेदनको फैसला कुरेर बसेको आयोगले फैसला आउनु केही दिन अघि खरिद प्रक्रिया अघि बढाएको छ । संसद पुनः स्थापना भए चुनावको सन्दर्भ नै सकिने हुँदा आयोग अदालतलाई कुरेर बसेको थियो ।

तर चुनावका लागि जनताले देखिने गरी काम नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमै आ’लोच’ना गरे पछि आयोग द’बाबमा परेर खरिद प्रक्रिया थाल्न बा’ध्य भएको हो । तर राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल-नेपाल पक्षले भने चुनाव हुनै नसक्ने भएकाले आयोगलाई अघि नबढ्न चे’ताव’नी दिँदै आएको छ । आयोगले बोलपत्रका फारमका किन्न लागि १७ गते सम्मको अवधि दिएको छ भने टेण्डर १८ गते दिउँसो १२ बजेभित्र हालिसक्नुपर्ने जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामग्रीहरुलाई विभिन्न ११ समूहमा समूहीकृत समेत गरिएको छ । ग्राह्य बोलपत्र दाताहरुले आयोगबाट मिति २०७७/११/११ देखि मिति २०७७/११/१७ गतेको कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिने र मिति २०७७/११/१८ गते दिनको १२.०० बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइ सक्नु पर्नेछ।’

खरिदका सूचना मंगलबारको गोरखापत्र र आयोगको वेभसाइटमा समेत प्रकाशन गरिनेछ । सरकारले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको चुनाव गराउन आयोगलाई ७ अर्ब रुपैयाँ दिने निर्णय गरिसकेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्