काठमाडौं, १८ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने जनाएको छ । दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न गर्नुपर्ने केन्द्रको भनाइ छ ।
कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिना भित्र सक्ने निर्णयमा सरकार पुगेको केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहालले बताए । यसको कार्यान्वयन स्थानीय तह मार्फत विद्यालयले गर्ने र शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गते अघि नै सार्वजनिक गरिने उनले जानकारी दिए ।
पाठ्यक्रमलाई केही घटाएर चैत भित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । कोरोनाका कारण बिग्रेको शैक्षिक सत्रको मिलान २०७९ साल भित्रमा गरिने र त्यस पछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ ।