गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यस संस्थाको महिला प्रतिनिधि मिली उपाध्याय कोइरालाको संयोजकत्व र एन.आर.एन.ए महिला फोरम फ्रान्सको विशेष सक्रियतामा आइतबार एक भर्चुअल कार्यक्रम गरी सम्पन्न गरेको छ।
यस कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री नरेन्द्र शाही ( ठकुरी ) ज्यु र प्रमुख अतिथिको रुपमा आइ. सि. सि. आदरणीय पान कुमारी मल्ल ( पारु ) थिईन भने फ्रान्समा रहेका विभिन्न संघसंस्थामा आबद्ध भएर संबन्धित संस्थाको प्रमुख पदमा रहि सफलता पुर्वक नेतृत्वदायी भूमिका निभाएका अग्रज महिला व्यक्तित्वहरुलाई उनिहरुको सम्मानमा कदर पत्र प्रदान गरिएको थियो ।
जसमा पाकोफेनकी भु. पु अध्यक्ष तथा एन.आर.एन.ए फ्रान्सकी संस्थापक सदस्य जिता(मैया) कट्वाल , त्यसैगरी तमु समाज फ्रान्सकी भु. पु अध्यक्ष तथा एन.आर.एन.ए फ्रान्सकी सल्लाहकार अनिता गुरुङ र पाकोफेनकी वर्तमान अध्यक्ष आदरणीय सुमित्रा प्रधानलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी दिदिबहिनीहरुले महिला उत्थान,महिला सशक्तीकरण र महिला मैत्री समाजको निर्माणमा व्यक्ति,परिवार,समाज र पुरै राज्य सकरात्मक र प्रगतिशिल हुनु पर्ने कुरा व्यक्त गरे । विभिन्न वहानामा विभक्त नभइ महिलाहरु एक हुनुपर्ने साथै महिलाका समस्या र चुनौतीहरुको सामना गर्न स्वयं महिला नै निडर भइ अघि बड्नु पर्ने अठोट पनि राखेका थिए।
नर्डिक मुलुकहरुमा महिलाहरुले देशको कार्यकारी प्रमुखको भुमिका निभाउँने नेतृत्वदायी भूमिका निर्वाह गरिसके पनि अझैँ विकसित युरोपकै कतिपय मुलुकहरुमा महिलाहरुलाई श्रमको समान पारितोषिक नहुनु ,कार्यक्षत्रमा भुमिगत लैङ्गिक भेदभाव रहनु आदि जस्ता यथार्थ रहँदै गर्दा हाम्रो जस्तो विकासोन्मुख देशमा महिलाहरु धेरै कुरामा पछि परेको कुरा पनि सहभागिहरुले राखेका थिए। शिक्षा,स्वास्थ्य,रोजगारीमा महिलाहरुलाई प्राथमिकताको साथै समाजमा व्याप्त कुरिति, रुढीवादी र अन्धविश्वासहरु निर्मुलन हुनु पनि जरूरत रहेको सबैले बताए।
अन्तराष्ट्रिय नारी दिवसको यस गौरबशाली र ऐतिहासिक अवसरमा महिलाहरुको उपलब्धि,योगदान र सफलताको कदर गर्दै संपुर्ण नेपाली नारी समुदायलाई आर्थिक न्याय, राजनीतिक सहभागिता, सामाजिक समानता,लैङ्गिक समानता,शारिरीक स्वयत्तता,यौन र प्रजनन स्वास्थ्य र अधिकारहरु, महिला नेतृत्व र सशक्तीकरण , महिला मैत्री विज्ञान र प्रविधिको साथै साहित्य र प्राज्ञिक आदि हरेक क्षेत्रमा समृद्धि उन्नति र उतरोक्तर प्रगतिको लागि एन.आर.एन.ए फ्रान्सले सम्पुर्ण नारीहरुलाई सुभकामना ब्यक्त गरेको छ।
