वाम गठबन्धन नटुटाउने, सरकारमा माओवादीसँगै मिल्ने माधव पक्षको निष्कर्ष

माधवकुमार नेपाल

काठमाडौं, २७ फागुन । सत्तारूढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले बुधबार सर्वोच्च अदालतको फैसला पछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो ।

बैठकमा नेतारूले तत्काल वामपन्थी दलको एकता सम्भव नभए पनि सरकार बाट चाहिँ छुट्न नहुने मत प्रकट गरेका थिए । एमालेका वरिष्ठ नेता नेपालले वामपन्थी घोषणापत्र जारी गरेर त्यसको बलमा प्राप्त जनमतलाई जोगाएर जानुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हामीले वाम घोषणापत्रका आधारमा मत पाएका हौं, त्यसलाई कायम राखेर जानुपर्छ, अन्यथा ढंगले अघि बढ्नु हुँदैन,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने । अर्का वरिष्ठ नेता झलनाथ खनालको धारणा पनि नेपालकै जस्तो थियो । खनालले त बुधबार प्रतिनिधिसभा बैठकपछि सार्वजनिक रूपमै एमालेको सरकारलाई अब दुई वर्षसम्म टिकाउन लाग्ने बताएका थिए । त्यसका लागि वाम गठबन्धन कायम राख्नुपर्ने उनको धारणा थियो ।

केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकपछि नेता रघुजी पन्तले सरकारको विषयमा अहिलेको गठबन्धन टुटाउन नहुने धारणा अधिकांशको रहेको जानकारी दिए । ‘सरकार वामपन्थीहरूको हुनुपर्छ, त्यसैले यो परिस्थिति निर्माण गर्नेतर्फ लाग्नुपर्छ,’ बैठकपछि पन्तले भने, ‘तत्काल पार्टी एकता सम्भव होला कि नहोला तर वामपन्थीकै सरकार आवश्यक छ ।’ -कान्तिपुरबाट

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर