काठमाडौं, २७ फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । अहिले पूजापाठ गर्नेको लाइन देखिन्छ । भजनकीर्तनदेखि नाचगान गर्नेहरु समूहसमूहमा देखिन्छन । भक्तजनहरुदेखि साधुसन्त पशुपति आइपुगेका छन् ।
पशुपति क्षेत्र विकास कोषलगायत स्वयंसेवीहरुले यहाँको भिड व्यवस्थान चुस्त राख्न खटिएका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।