काठमाडौं, ५ चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्य वृद्धिको आधारमा भाडा समायोजन गर्न माग गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी पनि दिएको छ ।
महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनलाई म्याद थपगरी सञ्चालन गर्ने अनुमति दिन पनि आग्रह गरेको छ । मन्त्रीलाई २० वर्षे अवधि पुगेर पनि सञ्चालन भइरहेका सवारी साधनलाई म्याद थप गरीदिन आग्रह गरेको हो ।
प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने माग महासंघको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग आफूहरूले राखेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।