फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा

फ्रान्समा लकडाउन खुकुलो बनाईंदै

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गरेका हुन् । उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् ।

उनले यहाँका बढी प्रभावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिना अघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।

पहिलेका लकडाउनमा यहाँ एक किसिमले कर्फ्यु नै लगाए जस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ । कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलो पटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ । प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेलनमा भनेका छन्– रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

गएको २४ घन्टा यताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ । यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ । फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार भन्दा बढी पुगेको बताइएको छ ।

युरोपेली मुलुकहरुमा नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा :
कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरै युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

पोल्याण्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ । कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् ।

जर्मनीको कासेल शहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्वीटजरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरु भएका छन् । कासेलमा भेला भएका प्रदर्शनकारीले ‘लकडाउन अन्त्य गर’ भन्दै प्लेकार्ड सहित सडकमा आएका थिए ।

अफ्रिकामा कोरोना भाइरसको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना :
अफ्रिकामा, म्याडागास्करका राष्ट्रपति आन्द्री रजोलिनाले कोरोना भाइरसको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना गरेका छन् । केही समय मत्थर देखिन थालेको कोरोना भाइरस सङ्क्रमण पछिल्ला समय पुनः सक्रिय भएको देखिएको छ । अघिल्लो साता विश्वभर कोरोना भाइरसको सङ्क्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री खान पनि खोप लगाएको दुई दिनपछि कोभिड देखिपछि आइसोलेसनमा :
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको दुई दिनपछि कोभिड देखिएको छ । प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बस्नु भएको र सामान्य लक्षण मात्र देखिएको बताएका छन् ।

कोभिड विरुद्धको अस्ट्राजेनिका खोपको विवाद :
कोभिड विरुद्धको अस्ट्राजेनिका खोपको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्ने क्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएका छन् । अस्ट्राजेनिका कम्पनीले ९ करोड डोज खोप युरोपलाई दिने भने पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाई भएको बताउँदै आएको छ ।

जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भने, ‘हामीसँग निकासी रोक्नु बाहेक अर्को विकल्प छैन । यही नै अस्ट्राजेनिकालाई सन्देश हो । अन्य मुलुकका लागि खोप पठाउनुअघि युरोपलाई पहिले खोप दिनुपर्छ, नत्र हामी निर्यात रोकिदिन्छौँ ।’ अस्ट्राजेनिकाले युरोपेली युनियनमा आबद्ध मुलुकलाई खोप नदिई बेलायतलाई पहिलो प्राथमिकता दिएर पूरै खोप पठाएको युरोपेली युनियनको भनाई छ । बेलायतले शनिबारसम्म कूल जनसंख्याको कम्तीमा आधा वयस्क जनसंख्यालाई कम्तीमा एक डोज खोप लगाएको छ ।

युरोपेली नियामक निकाय र विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनिका खोप सुरक्षित र प्रभावकारी रहेको जनाए पनि डेनमार्क, नर्वे, स्वीडेन र फिनल्यान्डले यो खोप लगाउनुअघि अस्ट्राजेनिका सम्बन्धी विस्तृत विवरण प्राप्त गर्न चाहेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्स दुबैले शुक्रबार अस्ट्राजेनिका खोप लगाएका छन् । विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न नसकिने अवस्था रहेको जनाएको छ ।

‘हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ’ टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, ‘यो अपरिहार्य निर्णय हो । ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो ।

भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिए :
भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर