गाउँको रायश हमाल यस्तो छ कहानी …

Gauko-Rayash-Hamal

पर्दामा गुण्डाको बोस सुनिल थापा आएर एउटा गरिब किसानलाई कुट्न थाल्यो । निकैबेर मरणासन्न हुनेगरी कुटेपछि त्यो निर्बल किसानको मृत्यु भयो । श्रीमानको ज्यान बचाउन हारगुहार गरिरहेकी किसानकी श्रीमतीलाई पनि केहीबेर लछारपछार पारेर सुनिल थापा अट्टहास हाँस्दै गयो ।

मृत किसानको चितामा उसकी श्रीमती मिथिला शर्माले आगो लगाई । सेतो फरिया लगाएर काखमा नाबालक छोरा च्यापेकी उसले रोदन र आक्रोशको बोलीमा काखको बच्चालाई आँखामा आँखा जुधाएर भनी- ‘बाबु, तैंले तेरो बाउको हत्याको बदला लिनैपर्छ । मुखियासँग तैंले तेरो बाउको हत्याको बदला लिनैपर्छ ।’

त्यहीबेला आकाशमा मेघ गर्जिन्छ, चट्याङ पर्छ । केहीबेर प्रलय आएजस्तो हुन्छ पर्दामा ।

सानै उमेरमा त्यो बालकले सङ्घर्ष गर्छ, ज्यान सुगठित बनाउने काम गर्छ । उसलाई उसको गुरू गोपाल भुटानीले कुंग्फु, कराँते सब सिकाउँछ । लडाइँ लड्ने तयारीस्वरूप कसरत गर्दैगर्दा एकदिन ऊ हाइजम्पका लागि उफ्रिन्छ । सुइँइँइँय आकाशमा उफ्रेर भुइँमा फुत्त झर्दा त्यो फुच्चे त राजेश हमाल पो बन्छ । अनि शुरू हुन्छ बट्टारको वनदेवी चलचित्र मन्दिरमा सिट्टी र तालीको गडगडाहट !

राजेश हमाल देखिँदा आँखाभरि जमेका आँशुको तलाऊ टिलपिल-टिलपिल गर्न थाल्छन् तर पनि आँखा झिमिक्क गर्न मन लाग्दैन । परेला सपक्क पुछेर आँशु निखार्ने बेलैमा राजेशलाई हेर्न नपाइएला भन्ने डर हुन्छ । त्यसैले एक्कासी ठूलो भएर गुण्डाहरूलाई गोदिरहेको राजेश हमाललाई देखेर उसका मुट्ठीहरू कसिन्छन्, छाती जोस्सिन्छ, आँशुहरू ओठहरूमा खुलेको मुस्कानमै समाहित भएर बसिदिन्छन् । थाहै नपाइ उसको हातका औंलाहरू कन्चेटबाट स्वाट्ट पछाडि घिच्रोमा पुग्दछन् । अलिअलि घाँटीसम्म आउन लागेको कपालको चुल्ठो यस्सो चलाउँछन् । उसलाई आफू पनि राजेश हमाल भएको महसुस हुन्छ ।

फुच्चे सुरेश बडाललाई आफ्नो नाम पनि रायश हमाल जस्तैजस्तै मात्र लागेको हैन, आफू नै रायश हमालको अवतार हो भन्ने लागेको त्यतिबेलादेखि हो जतिबेला ऊ चार कक्षामा पढ्थ्यो । त्यतिबेला रायश हमाल त उसका बाभन्दा पनि जेठो छ रे भनेको सुन्दा उसलाई रत्तिभर विश्वास लागेको थिएन । उसलाई उसको बा जत्तिको बलियो संसारमा कोही लाग्दैन थियो ।

ऊ सानो छँदा उसलाई साँझ परेपछि बा घरमा भएनन् भने डर लाग्थ्यो । संसारको सबैजना डराउने भूतसँग पनि उसलाई लड्ने हिम्मत आउँथ्यो जब उसका बा घरमा हुन्थे । उसलाई किचकन्यासँग भएको बाको जम्काभेटका किस्साहरू सुनेपछि मनमनै लागेको हो, संसारमा सबैभन्दा बलिया मेरै बा हुन् ।

तर स्कुलमा सुन्दरेले पहिलोचोटी रायश हमालको बारेमा सुनाएका कुराहरूले उसको मथिंगल हल्लाएको थियो । को रहेछ यो मान्छे, जो उसको बाभन्दा पनि बलियो छ रे । कपाल लामो र आँखा डेढो भएको रायश हमाल त बाघसँग पनि लड्न सक्छ रे । एउटा फिलिममा मर्यो भने फेरि अर्को फिलिममा बाँचेर आउँछ रे । भनेको सुन्दा उसलाई अचम्मले मर्नु बनाएको थियो ।

के रायश हमाल देउता हो त ? मान्छे भए त कहाँ बाघसँग लड्न सक्नु, कहाँ मर्दै बाँच्दै गर्न सक्नु र ।

नभन्दै रायश हमाल त देउता नै रहेछ भन्ने कुरा उसले स्कुल अगाडिको पसलको भित्तोमा देउता लेखेको पोस्टरमा डेढो आँखा र लामो कपाल भएको मान्छे देखेपछि पत्याएको थियो ।

सुन्दरेले चोरऔंलाले फिलिमको पोस्टरमा देखाएर भनेको थियो, ‘यी यो फिलिममा रायश हमाल देउता हुन्छ, लास्टमा मर्छ, तर केही छैन, अर्को फिलिममा फेरि बाँचेर आउँछ ।’

आधाघण्टा एकटकले पोस्टर हेरिसकेपछि उसलाई देउतालाई हेर्न जाने मन भयो । तर जाने कसरी ? फिलिम हेर्न भनेर कहाँ लैजानु बाले ? एक्लै जान कहाँ दिनु र घरमा ? त्याँमाथि नुहाउने दिन । आमाले दिनैभरी लखेटीलखेटी भए पनि समातेर ल्याएर धारोमा खल्लीमल्ली नुहाइदिने दिन पो त शनिबार ।

तर पनि रायश हमाललाई हेर्न जाने भनेपछि अवसर मिलेरै छोड्यो । सुन्दरेले ‘मसँग टिकट किन्नी पैसा छ, तँ पछि देलास् नि भाको बेलाँ’ भनेर सापटी पत्याएपछि सुरेश बडालले शनिबारको दिन आमाले नुहाउने बन्दोबस्त गर्नुअगावै घरबाट कुलेलाम ठोक्ने मौका पायो ।

उसलाई लाग्यो देउताले चाह्यो भने त आफूलाई दर्शन गर्न आउने दर्शनार्थीहरूलाई ‘तथास्तु’को पोजिसनमा हत्केला उठाएर फ्याट्टै तान्दिन सक्ने रहेछ । नभन्दै सुरेश बडाल साथी सुन्दर थापासँग अँगालो मार्दै देउताको शक्तिबाट तानिएर पहिलोचोटी वनदेवी चलचित्र मन्दिरको दैलोमा पुगेको थियो ।

उसले मन्दिरमा धुपबत्तीको राग आएको थाहा पाएन । भजन-कीर्तनको ध्वनि सुनेन । उसले त एउटा हात मात्र छिराउन मिल्ने डुँडभित्र बसिरहेको एउटा पुजारी देख्यो जसलाई बीस रूपियाँको नोट दिएर सुन्दरेले दुईटा टिकट किनेको थियो । उसले पहिलोचोटी यति ठूलो मन्दिर देखेको थियो जहाँभित्र रायश हमालले फाइट हान्छ रे भन्दा उसलाई कहिले दश बजेर पन्ध्र मिनेट जाला भनेर बेसब्री (छटपटी) हुन थालेको थियो ।

मन्दिरमा घन्टी बज्यो । तर यो घन्टीको आवाज बेग्लै थियो । महादेवको मन्दिरमा जस्तो ट्वांग ट्वांग गर्ने खालको थिएन । यो मन्दिरमा त घन्टी किरिरी गरेर बज्यो । हातमा पूजाको थाली थिएन, उखुको कुड्को काटेको नैवेद थिएन । कालो पर्दा झुन्ड्याएको एउटा ढोकाबाट रित्तै पसेपछि छामछुम गर्दै कहिले सुन्दरेको कम्मर त कहिले चाक छुँदै एउटा अँध्यारो कुनाको सिटमा गएर सुरेश बडाल बस्यो ।

अँध्यारो कुनामा बसिरहँदा सुरेश बडालको मुटु जोडले धड्किरहेको थियो । उसको छाती बुत्रुकबुत्रुक उफ्रिरहेको थियो । कतिबेला रायश हमाल आउला भनेर कुरिरहेका उसका आँखा त्यतिबेला चम्किला भए जतिबेला पर्दामा एक्कासी उज्यालो फैलिएर आयो ।

कसरी भनुँ म मनको कुरा यो, पहिलो पहिलो हो मेरो माया हजुरलाई भनेर गाउँदै नाचेकी सुन्दरी हिरोनीको पनि उसलाई पर्वाह भएन न त सोझो अनि ज्ञानी साइडहिरो सोनामको चासो लाग्यो ।

उसका आँखा त रायश हमालकै आँखा हेरेर कहिले उन्मुक्त भए खुसीले, त कहिले रिसले आगो बने । बीचको चुइगम खाने र पिसाब फेर्ने दश मिनेटको ‘हाप्टेन’मा बाहेक अरूबेला उसका नाडीका रौंहरू ऊ आफैंजसरी ठाडो बनेर तनक्क तन्किरहे । तीन घण्टा कति चाँडो बित्यो उसले पत्तो पाएन । बस् उसको मनले यही सोचिरह्यो कि कहिले अर्को शनिबार आउला र अर्को फिलिममा बाँचेर आएको रायश हमाल देख्न पाइएला ।

धेरै शनिबारहरू यसैगरी आइरहे । यसैगरी रायश हमाल पनि सुरेश बडालका खातिर पर्दामा आएर गुण्डाको बोस सुनिल थापालाई मारिरह्यो । मिथिला शर्माको बदला लिइरह्यो । अझै कहिलेकाहीं त ऊ राजेन्द्र खड्गीलाई गोदेर विपना थापा र करिश्मा मानन्धरलाई पनि बलात्कारबाट बचाइरहन्थ्यो । यो देख्दा सुरेश बडाललाई लाग्थ्यो रायश हमाल छउन्जेल यो देशमा कोही अन्यायमा पर्नेछैन ।

तर रायश हमालको गाउँमा पो गाउँको मुखियालाई कुट्ने, शहरको तस्करलाई तह लगाउने रायश हमाल छ त ? आफ्नो गाउँमा को छ त्यस्तो अन्याय र अत्याचारबाट बचाउने ? सुरेश बडाललाई यो प्रश्नले धेरैदिनसम्म घोक्रो समातेर अँचेटिरह्यो ।

त्यसपछि निकैदिन घोत्लिएर सोचेपछि रायश हमाल र सुरेश बडाल नामहरू उस्तैउस्तै लयको सुनिने थाहा भएपछि मनमनै सुरेश बडालले आफूलाई आफ्नो गाउँको रायश हमाल घोषणा गरेको थियो ।

रायश हमाल बनेपछिको कुनै एउटा शनिबार सुरेशले ‘जूनतारा’ भन्ने फिलिम हेरेर आयो । त्यो दिन उसले रायश हमाल बन्नका खातिर बाघसँग लडाइँ गर्ने योजना बनायो । उसलाई थाहा थियो बाघ त जंगलमा मात्र पाइन्छ । त्यसैले ऊ बाघको खोजीमा घिच्रोपछाडि घुम्रिएर मुन्द्री पर्न थालिसकेको कपाल हातले चलाउँदै हे….ए गर्दै घरमाथिको पखेरातिर लाग्यो ।

उसले त्यो गर्धनतिर झुस पलाउन थालिसकेको कपाल बाले काट्छु भन्दा पनि नटेरेर केही हप्तादेखि नै पालिराखेको थियो । केही सिसौका अनि केही अमलाका बुटा भएको पखेरामा कहाँ बाघ भेट्नु र सुरेशले । बरू काखी कन्याउँदै जुम्रा खाइरहेको बाँदरको ढेडू देखेपछि भने हत्केलामा हात्तीछाप चप्पल उनेर ऊ आँखै नहेरी बेतोडले घर फर्कियो ।

बढेको सासले फ्याँ…फ्याँ गर्दै बाघसँग लड्न नपाएको खिन्नता अनुहारमा दलेर करेसामा आइपुगेको सुरेश बडालको जम्काभेट सुस्तरी पाइला चालिरहेको एउटा बाघसँग भयो । एकछिन त ढक्क फुल्यो छाती । पछाडि भागौं कि भिडुँ भन्ने विचारको दोसाँधमा उभियो ऊ । अनि आफूभित्रको रायश हमाल जागेपछि बिजुलीभन्दा पनि तेज गतिमा हामफाल्यो ऊ, च्याप्प समायो बाघलाई अनि बेस्मारी हुत्याइदियो तल्लो पाटामा ।

‘म्याउ म्याउ र न्यार्र न्यार्र’ गरेर बाघ भागेपछि सन्तुष्टिको एउटा मसिनो हाँसो खिस्स हाँसेर आफ्नो गाउँको रायश हमाल घरभित्र पस्यो ।

‘साथी’ फिलिम हेरेर आएको दिन छिमेकीको घरमा पालेको स्याउते कुकुर अंगाल्न पुगेको थियो सुरेश । कुकुर कुइँकुइँ गरेर भागेपछि ऊ बिचरा लुत्रे कान लगाएर फर्किएको थियो । ‘माटो बोल्छ’ भन्ने फिलिम हेरेर आएको दिन ऊ जीउभरि माटो दलेर हे….ए गर्ने तरखरमा थियो । ठिक्क त्यही बेलामा आमाले देखेर दुई चड्कन लगाएपछि ऊ न्याम्म परेर हातगोडा धुन गएको थियो ।

ऊ कहिले गाउँको सामन्ती मुखिया ठानेर भाइलाई कुट्थ्यो त कहिले शहरको तस्कर मानेर स्कुलमा साथीको च्यापु बेन्चमा बजार्दिन्थ्यो । यसरी हरेक अन्याय र अत्याचारविरूद्ध लडिरहेको सुरेश बडालका आँखाहरूले एकदिन त्यस्तो दृश्य देखे जसलाई देखेर ऊभित्रको रायश हमालसमेत त्यसदिन आत्तिएर कहालिएको थियो ।

त्यो खोल्सोको अँध्यारो कुनामा घोप्टो परेर मडारिइरहेको राजेन्द्र खड्गी थिएन, बरू त्यो त गाउँकै पिप्लाबोटे माइलो थियो । अनि माइलोको चंगुलबाट फुत्किन आँखाभरि आँशु जमाएर बल गरिरहेकी विपना थापा वा करिश्मा थिइन, त्यो त गाउँकै पुछारघरे ‘लाटी’ थिई । हातले पारा लगाएर बोल्ने ‘लाटी’लाई माइलोले बलात्कार गरिरहेको दृश्यले सुरेश बडालको मुटु बेस्सरी हल्लियो ।

तिर्मिराउँदै हेरिरहेको त्यो दृश्यबाट अकस्मात् पाइन्ट तानेर उठेको माइलोका आँखा सुरेशका आँखासँग जुध्न आए । सुरेशका खुट्टाहरू थरर्र काँपे । ऊभित्रको रायश हमाल अघि नै कुलेलाम ठोकिसकेको थियो । पर्दाको रायश हमाल वरिपरि कतै थिएन । अब त नभागी धर थिएन । माइलो झम्टिँदै आयो । यसपालि सुरेशले हात्तीछाप चप्पल हत्केलामा उन्न पाएन । र त लतारिएको चप्पल र लर्बरिएको पाइलोका कारण सुरेशको पछाडि घिच्रोको घुम्रिएको कपालमा माइलोका औंलाहरूले अँठ्याए ।

माइलोका हातहरू गर्धन नाप्न खोज्दै थिए, भाग्यवश सुरेश बटारिएर फुत्कियो । एउटा सुल्टो र अर्को उल्टो बनेर माइलोका छेउमा लडेका हात्तीछाप चप्पलहरूले सुरेश कुदेको परसम्म हेरिरहे । पछ्याउन त माइलोले केही पाइला पछ्याएकै हो, तर उसलाई पछाडि केही काम अधुरै रहेको ख्याल आयो क्यार, सुरेशले सुन्नेगरी ‘कसैलाई भनिस् भने काटेर सय टुक्रा पारेर गाउँभरि छर्दिन्छु नि होस् गरेस्’ भन्दै पछाडि फर्कियो ।

रातभरि तर्सिएको सुरेशले भोलिपल्ट गाउँमा कोही मरेको हल्ला सुन्यो । अरू गाउँलेजस्तै ऊ पनि लुरूलुरू खोल्सामा पुग्यो जहाँ एउटा रूखमा पुछारघरे लाटी झुन्डिएकी थिई । कोही पुलिस बोलाउनु पर्छ भन्दै थिए, कोही कसैले मारेको हो कि भन्दै थिए । कोही भने आफैं मरेकी होलि भन्दै थिए । ‘लाटी’ जाबीको लागि के पुलिस बोलाउनु भनेर पनि एक दुईजना चुरोट तान्दै थिए । तर पनि सुरेश बडाललाई केही भन्ने आँट आएन । ऊ आफैं त्रासले लाटो भएको थियो ।०००

पुलिस आएन । मुद्दा चलेन । लाटी दिउँसै जली । उसको परिवारलाई एउटा बोझ हट्यो । गाउँलेलाई पनि टाउको दुखेन । यसरी केही हप्ता पनि बित्यो । गाउँ सामसुम्म बन्यो । तर सुरेश बडाललाई भने एक्लैदुक्लै हिँड्नै डर लाग्थ्यो । पिप्लाबोटे माइलो आउला कि भन्ने सन्त्रासले चिसो बनाउँथ्यो उसलाई ।

‘माइलोले मार्या रे भन्छन् नि हो ?’

‘खै त्यसै भन्छन् ।’

यस्तै कुरा गरेर वल्लाघर पल्लाघर गाइँगुइँ गर्न थालेपछि एकदिन सुरेशले माइलोले मारेको आफैंले देखेको कुरा आफ्नी आमालाई खुसुक्क बताएको थियो । यति बताएपछि आफू हलुङ्गो भएको मानेको थियो । तर उसकी आमाले ‘देखेर के गर्छस् बाबु, पुछारघरेलाई लाटी मरेरै फाइदा भाछ । झुन्डेर मरेको भनिसके । उसै त बढी भाकी लाटी झन् माइलोसँगबाट कति पैसा लिएर घट्ना सामसुम बनाए कुन्नि’ भनेर बताएपछि उसको मन झन् गरूङ्गो भएको थियो ।

रायश हमालकै अगाडि अन्याय भएको थियो । तर ऊ आफैं निसहाय थियो यतिबेला । पर्दामा कताकताबाट बचाउन आइपुग्ने रायश हमाल उसको गाउँमा किन आएन ? सायद पुछारघरे लाटी हिरोनी नभएर पो हो कि ?

सुरेश बडाल निकैदिन अशान्त रहिरह्यो । उसको मनमा अनेक प्रश्नले डेरा जमाए । कालान्तरमा उसले पछाडि घुम्रिएको आफ्नो कपाल काट्यो र रायश हमालको फिलिम सधैंका लागि हेर्न छाड्ने निधो गर्यो ।

(बडालको कथासंग्रह ‘रहर‘ फाइनप्रिन्टबाट प्रकाशित छ) स्रोत: अनलाइनखबर

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

24 hours ago

DeeYan Media
शनिवार ३ बजे दिपिका जेनी युट्युब मार्फत यहाँहरुको माझ , हेर्न नभुल्नुहोला जिस्किएर गई.... ! youtube.com/channel/UClfiCywPQAMS0eVmOwpUB_g ... See MoreSee Less
View on Facebook