हामी कहाँ चुक्यौं ?

thamel corona

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पहिलो घटना १० माघ २०७६ गते सार्वजनिक गरेको थियो । पहिलो संक्रमितले अस्पतालबाट डिस्चार्ज भएपछि मात्रै आफूलाई कोरोना लागेको थाहा पाएका थिए। त्यो पनि मिडियामार्फत।

३२ वर्षीय ती युवा चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत थिए। स्वदेश आएलगत्तै पुस २८ गते परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। उनी निको भएर माघ ३ गते घर फर्किएका थिए। त्यसको झन्डै दुई महिना कुनै केस देखिएन। त्यसपछि भने नेपाललाई पनि कोरोनाले आक्रान्त पारिछाड्यो।

यो डेढ वर्ष अवधिमा संक्रमित हुनेको संख्या ७ लाख १० हजार ५ सय ९ पुगेको छ। यीमध्ये ६ लाख ६५ हजार ५ सय ४८ जना निको भएका छन्। शुक्रबारसम्म १० हजार १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हामीले ढिलो–चाँडो महामारीको सामना त गर्नै पथ्र्यो। तर, महामारी रोक तथा नियन्त्रणमा चुकेका छौं। मुख्य रूपमा कहाँ–कहाँ चुक्यौं त हामी ?

भेरियन्टझैं फेरिए मन्त्री
कोरोना भाइरसको भेरियन्ट फेरिएझैं डेढ वर्षमा पाँच स्वास्थ्यमन्त्री फेरिए। स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागमा महानिर्देशक पनि परिवर्तन भइरहे। कोरोना संक्रमण सुरु हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल थिए। उनी स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित बने।

०७५ जेठ १८ गते उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बने। सातवटै प्रदेशमा प्रयोगशाला स्थापनालगायत कार्य गर्न खोज्दाखोज्दै बाहिरिए। त्यसपछि हृदयेश त्रिपाठीले पुस १० गते मन्त्रालयको जिम्मेवारी सम्हाले। उनको कार्यकालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भयो। त्यसपछि शेरबहादुर तामाङ मन्त्री बने। अहिले उमेश श्रेष्ठ राज्यमन्त्री छन्।
यो अवधिमा स्वास्थ्यसचिव पनि सात जना फेरिए। स्वास्थ्यसचिवको जिम्मेवारीमा पुष्पा चौधरी, केदार अधिकारी, चन्द्र घिमिरे, रामप्रसाद थपलिया, खगराज बराल र यादव कोइराला थोरै समय मात्र बसे। १५ जेठ २०७७ मा मन्त्रिपरिषद्को निर्णयबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएका लक्ष्मण अर्यालले चार स्वास्थ्यमन्त्रीसँग काम गर्न पाए। मन्त्रालयमा जुन मन्त्री आए पनि उपचारमा सेवामा संलग्न स्वास्थ्यकर्मीलाई उत्साहित गर्ने, मनोबल बढाउने कार्य गर्न चुके।

मन्त्री, सचिव, महानिर्देशकले महामारी रोकथाम तथा नियन्त्रणमा कुशलतापूर्वक नेतृत्व गर्नुपर्ने हो। तर, उनीहरू नै फेरिँदा संक्रमणविरुद्धका कामकारबाही फितलो भयो। मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल कोभिड–१९ नियन्त्रण गर्न कोच (मन्त्री) क्याप्टेन (सचिव) र खेलाडी (स्वास्थ्यकर्मी) मिलेर प्रभावकारी खेल खेल्नुपर्नेमा त्यो हुन नसकेको बताउँछन्। भन्छन्, ‘एक–दुईवटा राम्रा खेलाडी थिए। तर, कस्तो भइदियो भने देब्रे खुट्टा चल्ने खेलाडीलाई दायाँ खेलाइयो। दाहिने खुट्टा चल्ने फुटबलरलाई बायाँ भागमा खेलाएजस्तो भयो। त्योभन्दा दुर्भाग्य अरू के हुन सक्छ र ?’

राजनीतिक दलको खेलाँची
सरकार महाव्याधिविरुद्धको प्रतिकार्यमा चुक्यो नै। सत्तारुढ दलभित्र राजनीतिक कलह उत्तिकै बढ्दै गयो। विभिन्न पक्षीय जुलुस, भेला, सभा जारी रहे। यस्ता कुनै पनि कार्यक्रममा भौतिक दूरी कायम गरिएन। अन्य दलले पनि खेलाँची गरे। जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्दै कार्यकर्ता भेटघाटदेखि सभा, जुलुसलगायत प्रदर्शनका गतिविधि बढे।

रणनीतिक कमजोरी
सरकार सीमित स्रोतसाधनको उच्चतम उपयोग गर्न पनि चुक्यो। सीमा क्षेत्रमा निगरानी, क्वारेन्टाइन, एवं होल्डिङ सेन्टर व्यवस्थित गर्न सकेन। बाँकेका एक संक्रमितको क्वारेन्टाइनमै ज्यान गयो। अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक तथा कन्सन्ट्रेटर चुस्त र चालू अवस्थामा राख्न नसक्दा कतिपय संक्रमितको ज्यान गयो। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डेका अनुसार यो महामारी सबैका लागि नयाँ भएकाले व्यवस्थापकीय कौशलता नदेखिएको हो।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी संक्रमणको पहिलो र दोस्रो लहरमा सीमा नाकामा व्यवस्थापन गर्न चुकेको बताउँछन्। ‘विगतमा अन्तर्राष्ट्रिय नाका र नेपाल–भारत नाकामा बेलैमा कडाइ गर्न चुकेको हो। अहिले पनि सीमा क्षेत्रमा भद्रगोल छ’, डा. मरासिनी भन्छन्, ‘कोरोना परीक्षणको दायरा बढाउन, अस्पताललाई तयारी अवस्थामा राख्न पनि चुकेको छ।’

पीसीआर परीक्षणलाई महत्व दिनुपर्नेमा आरडीटीमा जोड दिइयो। डा. प्याकुरेल सरकारमा रहनेहरूले आफूनिकट र चाकडीवाज विज्ञसँग परामर्श गरेका कारण नीति योजना तर्जुमा र कार्यान्वयनमा चुकेको बताउँछन्। उपलब्धिमूलक व्यवस्थापनले सरोकारवाला निकाय र अन्य जनशक्तिको सहभागितामा जोड दिन्छ। उपलब्ध स्रोतसाधनको कुशलता एवं दक्षतापूर्वक उपयोग गरिन निर्धारित लक्ष्य प्राप्तिका लागि सामूहिक प्रयास गर्न सकेन।

महामारी रोकथाम तथा नियन्त्रणका नियमित कार्यका अतिरिक्त सरकारले मुख्य प्राथमिकता खोपलाई दिनुपर्छ। कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य छ। तर, ७ प्रतिशतले मात्र खोप पाएको मन्त्रालयले जनाएको छ।

फितलो निषेधाज्ञा
सरकारले चैतदेखि वैशाख दोस्रो सातापछि झन्डै दुई महिना कडा निषेधाज्ञा गर्दा पनि संक्रमणको ‘चेन ब्रेक’ हुन सकेन। असार दोस्रो साता निषेधाज्ञा खुकुलो बनाउँदै गर्दा पनि परीक्षण गराउनेमध्ये दिनहुँ २० प्रतिशतभन्दा बढीमा संक्रमण भयो। निषेधाज्ञा खुकुलो पार्दै गर्दा सहरबजारमा भीडभाड बढ्यो। सार्वजनिक यातायात चल्न थाले। तर, राम्रोसँग मास्क लगाउने, भौतिक दूरी कायम गर्ने नियमको पालनामा
ध्यान नै पुगेन।

नागरिकको हेलचेक्र्याइँ
जनस्वास्थ्यका मापदण्ड पालनामा नागरिकले पनि खेलाँची गरिरहे। युवाहरू स्वच्छन्द तरिकाले हिँडडुल गरे। कतिपय स्थानमा निषेधाज्ञाको पालना गराउन खोज्ने प्रहरीमाथि नै दुव्र्यवहार तथा आक्रमण भयो। प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर कानुन उल्लंघन गर्ने मानसिकता देखिएको बताउँछन्। निषेधाज्ञा पालना गराउन खोज्दा किन हिँड्न नपाउने ? भन्दै प्रतिप्रश्न गरेर निहुँ खोज्ने प्रवृत्ति प्रायः सबै चेक प्वाइन्टमा देख्न सकिने प्रवक्ता कुँवर बताउँछन्।

पहिलो लहर
पहिलो संक्रमित पुष्टि भएको दुई महिनापछि मात्र दोस्रो केस भेटिएको थियो। २०७६ माघ ९ देखि २०७७ चैत १ गतेसम्म महामारीको पहिलो लहर मानिएको छ। यस अवधिमा १७ हजार ५ सय २ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पहिलो लहरमा मुख्य गरी विदेशबाट फर्केका व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। ४ लाखभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको थियो। उक्त अवधिमा मुलुकभर लकडाउन गरिएको थियो।

लकडाउन खुकुलो गरेको दुई सातापछि संक्रमण समुदाय तहमा फैलियो। २०७७ कात्तिकमा पहिलो लहर उच्च बिन्दुमा पुग्यो। कात्तिक ५ गते ५ हजार ७ सय ४३ जना संक्रमित पुष्टि भए। यो चरणको न्यूनतम विन्दु २०७७ चैत १ गते रहेको थियो। जुन दिन ५३ जना नयाँ संक्रमित फेला परेका थिए। कात्तिक ६ गते सबैभन्दा बढी ४६ हजार ४ सय ६१ सक्रिय केस थिए।

दोस्रो लहर
२०७७ चैत २ देखि दोस्रो लहर मानिएको छ। चैत पहिलो सातादेखि संक्रमण वृद्धि हुन थाल्यो। २०७८ वैशाखको अन्तिम साता दोस्र्रो लहर उच्च विन्दुमा पुग्यो। वैशाख २८ गते ९ हजार ३ सय १७ जना नयाँ संक्रमितको पुष्टि भयो। यस अवधिमा सबैभन्दा बढी सक्रिय संक्रमित वैशाख २८ गते १ लाख १७ हजार २ सय ६३ जना पुगेका थिए। शुक्रवार ३ हजार ७ सय २९ जना नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्रोत : अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक