प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुदै

दमौली २६ पुस, । उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क गराउने र उत्पादनको अवस्थाबारे जानकारी दिन तनहुँको सदरमुकाम दमौलीमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने जनाइएको छ ।

व्यास नगरपालिकाको आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बीउ व्यवसायी सङ्घको सहकार्यमा पुस ३० गतेदेखि माघ २ गतेसम्म कृषि तथा पशुपन्छी मेला हुन लागेको छ ।

कृषि उत्पादनसँग सम्बन्धित जिल्लास्थित निकायसँग आपसी समन्वयमा सशक्त भूमिका निर्वाह गरी कृषकका उत्पादन वृद्धिमा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य मेला गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “इतिहासमा यहाँ उत्पादित कृषिउपज छिमेकी जिल्लादेखि देशका कुनाकाप्चासम्म पुग्ने गरेको भए तापनि हाल आएर परनिर्भर हुनुपरेको छ”, उहाँले भन्नुभयो “यो परनिर्भरता चिर्न मेलाले ठूलो भूमिका निर्वाह गर्नेछ र आत्मनिर्भर भई निर्यात गर्नसमेत विशेष सन्देश प्रवाह गर्नेछ ।”

मेलामा ४० कक्ष राखिने र सबै कक्ष कृषकलाई निःशुल्क उपलब्ध गराइनेछ । उक्त कक्षमा जिल्लाभरका कृषकले मास, तरकारी, फलफूल, महलगायतका कृषिउपज सामग्री प्रदर्शन तथा बिक्री गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

मेलामा कृषि प्रदर्शनी, प्रतियोगिता, बिक्री वितरण, आधुनिक कृषि उपकरण प्रदर्शन, आधुनिक प्रविधिसम्बन्धी जानकारी एवं बिक्री वितरण, कृषि बीमा कम्पनीबाट जानकारी लगायतका कार्यक्रम गरिनेछ । जिल्लाका हरेक पालिकाबाट कम्तीमा एक पालिका एक उत्पादन तथा व्यास नगरपालिकाबाट कम्तीमा एक वडा एक उत्पादनको प्रदर्शन एवं उत्पादनको रणनीति अवलम्बन गरिएको समेत जनाइएको छ ।

मेलाले कृषि उत्पादनसँग सम्बन्धित जिल्लास्थित निकायसँग आपसी समन्वयमा सशक्त भूमिका निर्वाह गरी कृषकका उत्पादन वृद्धिमा बजारीकरणमा उपलब्धीमूलक हुने, एकापसमा छलफल गरी कार्यगत एकता हुने, स्थानीय तहको कृषि नीतिमा सल्लाह र सुझाव दिन सहयोगी हुने उपलब्धि हासिल गर्ने बताइएको हो । मेलाको दश हजार जनाले अवलोकन गर्ने दावी रहेको छ । मेला सम्पन्न गर्न पाँच लाख बजेट अनुमानित गरिएको पनि जनाइएको छ ।

जिल्लामा ४२ प्रतिशतभन्दा बढी भूभाग कृषियोग्य रहेको यहाँका ६० प्रतिशतभन्दा जनसङ्ख्या कृषिमा आधारित छन् । यहाँको जलवायु, जल, जमिन, अन्नबाली, तरकारीबाली, फलफूल पुष्पदेखि बीउ उत्पादन तथा पशुपन्छी र माछापालनको दृष्टिले उपयुक्त मानिएको छ । यहाँ उत्पादित सामग्री स्थानीय बजार एवं देशका प्रमुख सहरमा बजारीकरण गर्नका लागि उपयुक्त रहेको छ ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा दमौलीमा कृषिउपजको बिक्री एवं प्रदर्शनी हुँदै आएकामा विगत केही वर्षदेखि यस्तो प्रचलन अवरुद्ध रहेको छ । कृषिउपजको बिक्री वितरणमा सहजता होस् र उत्पादक तथा उपभोक्ताबीचको सीधा सम्बन्ध होस् भन्ने उद्देश्यका साथ मेला पुनः सुरु गर्न लागिएको बीउ व्यवसायी सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । “यसको निरन्तरताले कृषिउपज सङ्कलन बजारीकरण तथा प्रचारप्रसारमा ठूलो भूमिका र कृषकलाई अवसर एवं हौसला प्र्रदान गर्ने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक