रसुवा, चैत्र २८ । रसुवामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको हौसला बढाउनका लागि रसुवा सांसदले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
रसुवाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले जिल्लामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
जिल्ला विपद कोषमा रहने गरी सांसद आचार्यले प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ४० थान पिपिई, ४ सय थान एन ९५ मास्क र १५ सय थान पन्जा लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रदान गरिएका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए । यसअघि पनि सांसद आचार्यले जिल्लालाई स्वास्थ्य समग्री उपलबध गराएका थिए ।