पर्वत, २८ चैत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा एकजना पक्राउ परेका छन ।
उपभोक्ताहरुको गुनासोका आधारमा जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको हो ।
नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ३७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४०० र आधा सिलिण्डरको रु ७०० तोकेको छ । व्यवसायी रेग्मीले रु एक हजार ७०० लिएर ग्यास बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई उनकै पसलबाट पक्राउ गरेको हो ।