काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्मका लागी आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषलाई दिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रम ओलीले आफ्नो पारिश्रमिक कोरोना कोषमा संकलन गर्ने बताएका हुन् ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छिन् ।