लकडाउनका कारण सीमावारि आउन नपाएपछि भारतीय क्वारेन्टाइनमा आमाको किरिया

काठमाडौं, ४ बैशाख । मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनको बसाइ सकेर घर आउने दिनको पर्खाइमा रहेकै बेला भट्टले आमालाई गुमाएका छन्।

नेपाल आउन नपाएपछि उनी आमाको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। घरमा आमा गोमतीको मृत्यु भएको खबर उनले मंगलबार पाए । उनी मंगलबारदेखि नै भारतीय क्वारेन्टाइनमा आमाको किरियामा बसेका खबर नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्यालले लेखेका छन्।

‘मेरा लागी दशा आएछ, आफ्नै भूमिमा जान नपाउँदा आमाको दाहासंस्कार पनि गर्न पाइनँ’, उनले भने, ‘भारतीय प्रहरीले जान दिन्छौं भनेका छन् तर आफ्नै देशबाट अनुमति नपाउँदा रोकिएको छु।’

आमाको मृत्युको खबर पाएपछि मर्माहत उनले पौडेरै भए पनि महाकाली नदी पार गरेर घर आउने सोच बनाएका थिए। तर नेपाली पक्षको अनुमति नपाउँदा भारतीय पक्षले छाड्न नमानेकाले क्वारेन्टाइनमै किरिया बस्न बाध्य भएको उनले बताए।

आमाको मृत्यु भएपछि घर आएर किरिया गर्ने वातावरण बनाइदिन दार्चुलाका नेतालगायतलाई आफूले हारगुहार गरे पनि सुनुवाइ नभएको उनले बताए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले भट्टलाई परेको समस्याबारे जानकारी पाएपछि उनलाई घर ल्याउने वातावरण बनाउन पहल भइरहेको बताए । कुँवरले भारतीय क्वारेन्टाइन क्षेत्रका उपजिल्ला अधिकारीलाई पत्र पठाएर भट्टलाई घर ल्याउने प्रक्रिया सुरु गरेको बताएका छन्।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्