इटली, स्पेन र फ्रान्सले गम्भीर गल्ती गरेका हुन : राष्ट्रपति ट्रम्प

डोनाल्ड ट्रम्प

कोरोना भाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्नको सामना गर्नुपरेको छ ।

देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो । राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर ‘उनीहरूले उपयुक्त ठानेका समयमा’ प्रतिबन्धहरू खुला गर्ने प्रक्रिया सुरु गरिने बताए । अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ बेरोजगारहरूको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ ।

मतभेद प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुन: सञ्चालन गर्ने समयबारे गभर्नरहरूसँग ट्रम्पको गम्भीर मतभेद छ । तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्य खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ । त्यसलाई राष्ट्रपतिले ‘त्यो निकै रोमाञ्चक’ भनेका छन् । राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवामा सेवाग्राहीको भार थामिनसक्नु भएको बताएका छन् । आय ठप्प भएका बेला अहिले लागुपदार्थ दुर्व्यसनी पनि अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए ।

अमेरिकाले अहिलेसम्म झन्डै ३३ लाख जनामा कोभिड-१९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झन्डै एक प्रतिशत हो । तर बुधवार लगातार दोस्रो दिन कोभिड-१९ बाट हालसम्मकै उच्च सङ्ख्यामा बिरामीहरूको मृत्यु भएको समाचारसंस्था रोएटर्सले जनाएको छ । अमेरिकामा अहिलेसम्म छ लाख ३७ हजार भन्दा धेरै व्यक्ति सङ्क्रमित भएको पुष्टि हुनुका साथै २८ हजार भन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ ।

ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरस आफ्नो उत्कर्षमा पुगिसकेको दाबी गरेका छन् । अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र पुनस् सञ्चालन गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए। बुधवार नै कोभिड-१९ भएको पुष्टि भएकाहरूको सङ्ख्या विश्वभरि २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो । डब्लुएचओमाथि पुन: रोष नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबारे पुन: आफ्नो रोष पोखेका छन् ।

उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्लुएचओले आलोचना गरेको बताए । ‘दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्लुएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्’, ट्रम्पले भने । ‘हेर्नुहोस् इटलीमा के भयो, हेर्नुहोस् स्पेनमा के भयो, हेर्नुहोस् फ्रान्समा के भयो।’ ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेको भन्दै ‘त्यो सायद उनीहरूले बोध गरिसकेको’ बताए ।

कोरोना भाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा ‘न्यूनतम दायित्व पूरा गर्न डब्लुएचओ विफल भएको’ आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका थिए । बिबिसी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्