धनगढी, ५ बैशाख । १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा कैलालीको भजनी नगरपालिकामा वडासचिव पक्राउ परेका छन् । मंगलबार साँझ घरनजिकै गोठालो गएका बेला वडासचिवसहित तीन जनाले सामूहिक रुपमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका ४ का सचिव २९ वर्षीय रामकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बलात्कार आरोपमा वडासचिवसँगै सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरीलाई पनि पक्राउ गरेको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई कैलाली जिल्ला अदालतबाट बलात्कार मुद्दामा अनुसन्धानका लागि १५ दिनको अनुमति लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार तीनै जनाले ती किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउँ भनी बलात्कार गरेको बुझिएको छ ।