लकडाउनका कारण खाद्यान्नको अभावले समस्यामा परेकालाई खाना खुवाउने

पोखरा, ६ बैशाख । पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभावले समस्यामा परेका व्यक्तिलाई खाना खुवाउने भएको छ ।

लकडाउनको बेलामा मजदुरहरु भोकको चिन्ताले घर हिँडको समाचारहरु आइरहँदा पोखरा महानगरपालिकाले समस्यामा परेकाहरुलाई घरघरमा खाना पठाउने भएको हो । लकडाउनको एक हप्तापछिबाट राहत वितरणमा लागेको महानगरले राहत बितरणमा केही ठाउँमा विवाद सिर्जना भएपछि घरघर खाना पुर्याउने योजना बताएको हो ।

महानगरले कोरोना भाइरसको संक्रमणका कारण रोजगारी गुमाएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिलाई निःशुल्क खाना खुवाउने जनाएको छ ।

महानगरले बनाएको लाभग्राही छनोट मापदण्डअनुसार राहत पाउनबाट वञ्चित भएका तथा समस्यामा परेकालाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । प्रमुख जिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा महानगरले पूर्ण र आशिंक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरिसक्दा पनि राहत नपाएको गुनासो आएपछि घरघर र बसेकै ठाउँमा पुगेर राहत वितरण गरिएको जानकारी गराएका छन् ।

महानगरले घरघर पुर्याउने खानामा सादा दाल,भात र तरकारी हुने पोखरा महानगरपालिकाका प्रमुख जिसिले बताए । ‘हामी पोखरा महानगरपालिका भित्रका ३३ वटै वडामा निःशुल्क खाना खुवाउन लागेको छौँ । अहिले हामीले सादा खानाको व्यवस्था गरेका छौँ । ’ पोखरा महानगरमा बस्ने कोही पनि भोकको चिन्ताले महानगर छोड्न नपरोस भनेर निःशुल्क खानाको व्यवस्था गरिएको जिसिले बताए ।

‘हाम्रो महानगरमा बस्ने कोही पनि श्रमजीवि मजदुरले भोकै बस्नु पर्दैन । आर्थिक अभावको कारण बिचल्ली भएका जनताको जिम्मा महानगरपालिकाले लिन्छ । हामी निरन्तर जनताको समस्या समाधान गर्न लागिरहेका छौँ । लकडाउनको अवधीभरी विहान बेलुकीको खानाको जिम्मा महानगरले लिन्छ । यो संकटको समयमा कोहि पनि आत्तिन र मात्तिन जरुरी छैन ।’ उनले भने ।

लकडाउन उलंघन नहुने गरी भौतिक दूरी कायम गरी खाना खान सेवाग्राहीलाई अनुरोध गर्दै सोही अनुसार व्यवस्था मिलाउन वडा कार्यालयलाई विज्ञप्तिमा अनुरोध गरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्